Wednesday, July 22, 2026

 ‘झर्रोवाद’का जन्मदाता बालकृष्ण पोखरेलका सम्झनामा

– तारानाथ शर्मा



झर्रोवाद भन्ने शब्द बालकृष्ण पोखरेलको निजी शब्द हो । यसमा बनारसमा अध्ययनको क्रममा दुई प्रखर होनहार युवाहरू भाषासम्बन्धी तर्क–वितर्क गरिरहन्थे । यसै क्रममा सुन्नेहरू अब यी दुई युवाको कुन दिन नराम्रो झगडा हुनेछ र यो झगडा भनी अरूहरूले उनीहरूको भेट गराउँदा भन्थे । बालकृष्ण पोखरेलले म पनि तपाईं जस्तै शुद्ध नेपाली लेख्न र बोल्न भनेपछि हुरूक्क हुन्छु । त्यसमा शुद्ध विशुद्ध भनेर संस्कृत शब्दमा नै सीमित रहनुभन्दा हाम्रो आफ्नै नेपाली जन–जिब्राको इतिहास अध्ययन गरेर लेख्नु र बोल्नु अति उत्तम हो । जस्तो हाम्रो बाबुबाजेदेखि चलिआएको यो झर्रो शब्द जस्तै झर्रो क्षेत्री भनेर आफ्नो नेपालीपन छर्लङ्ग देख्न र भेट्न अथवा अनुभव गर्न सकिन्छ त्यसरी नै यो ह्राो नेपाली मातृभाषामा झर्रो शब्दको आफ्नोपन नेपाली हृदयसँग जोडिएको र गाँसिएको हुनाले शुद्ध, विशुद्ध जस्ता संस्कृत शब्द राख्नुभन्दा झर्रो शब्द राख्नु आफ्नोपनको नजिक हुन्छ । यसरी स–प्रमाण विस्तारपूर्वक झर्रो शब्दको परिभाषा गरेपछि दुवै नेपाली युवाहरू एक आपसमा अङ्कमाल गर्दै ‘झर्रो’ शब्दलाई स्वीकृति सूचकरूपमा लिएकै दिन झर्रोवादको जन्म भएको थियो । यस झर्रो शब्दले नेपाली शब्दकोशमा यौटा वौद्धिक र समसामयिक आन्दोलन नै ल्याइदिएकोले नेपाली जनजिब्रामा यो झर्रो शब्द आत्मसात् हुनगयो । 

त्यसै दिनदेखि नेपाली भाषा साहित्यको इतिहासमा यो झर्रो शब्दले यी होनहार युवाहरू बालकृष्ण पोखरेल र तारानाथ शर्मालाई भाषिक आत्मीयताको एउटा बाटामा हिँड्न लगाएको इतिहास छर्लङ्ग भएको छ । 

त्यसैगरी अर्कोपल्ट म बेलायतमा पढ्न भएको बेला ‘वेल्स युनिभर्सिटी’मा समुद्र तरेर उत्तर आयरल्याण्ड र दक्षिण आयरल्याण्डको यात्रा गर्दा आयरल्याण्डका मानिसहरूले मेरो भव्य स्वागत गरे । 

आयरल्याण्डको स्वतन्त्रता प्रेम औधी रमणीय र स्मरणीय छ । त्यसको बारेमा भेनाई साघुँको वर्णनलाई जोडेर लेख्दा औधी राम्रो लेख तयार भयो । ‘रत्न श्री’ पत्रिकामा यो लेख पनि प्रकाशित भएपछि बालकृष्ण पोखरेलले यो तपाईंको उत्कृष्ट लेखले नयाँ विधालाई जन्म दियो जसलाई हामी ‘नियात्रा’ भन्न सक्तछौँ । 

यसरी मेरो लेखलाई बालकृष्ण पोखरेलले टिप्पणी गरेर ‘नियात्रा’ भन्ने विधालाई जन्म दियौ भनेर लेखहरू प्रकाशित भएपछि हामी बालकृष्ण पोखरेल र म तारानाथ शर्मा अझ आत्मीय र भाषाविज्ञानमा सहयात्री भयौँ । 

यसको सँगसँगै चैनपुरका चूडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दाहाल आदि मित्रहरूले ‘नौलो पाइलो’ भन्ने साहित्यिक पत्रिका विराटनगरबाट निकाले । त्यस पत्रिकालाई बालकृष्ण पोखरेलको विशेष अनुग्रह बमोजिम ‘झर्रो’ नेपालीको ‘नौलो पाइलो’ भन्ने नाम दिई प्रकाशन गरेर ‘झर्रोवादी’ आन्दोलनलाई अगाडि बढाइएको थियो । ‘नौलो पाइलो’ पत्रिकाका सम्पादकद्वय बालकृष्ण पोखरेल र तारानाथ शर्मालाई बनाइएको थियो । 


कृष्ण–बालकृष्ण 

 – कृष्णप्रसाद पराजुली 

म कृष्ण, उनी बालकृष्ण, तर मेरा निम्ति प्रौढकृष्ण– दुई–चारवटा भोटो बढी फटाएका अग्रज । उनलाई मैले कहिलेदेखि चिन्दै आएँ– सबै सम्झन्नँ, तैपनि बनारसबाट निस्कने ‘नौलो पाइलो’ म चाख लिएर पढ्थेँ– २०१३ सालतिर । त्यसै बेलादेखि उनको नाम सुनेको–जानेको हुँ । विभिन्न ठाउँमा उनको प्रसङ्ग आयो र एकाधपल्ट देखादेख पनि भयो । राम्रो भेटघाटचाहिँ धरहराको दक्षिणपट्टि छेडाभित्र (गणबहालमा) रहेको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको तत्कालीन कार्यालयमा भएको हो । पछि त कहिले प्राज्ञप्रतिष्ठानको कार्यालय कमलादीमा, कहिले सहयोगी प्रकाशन त्रिपुरेश्वरमा, कहिले रत्न पुस्तक भण्डार बागबजारमा, कहिले उनको बासस्थान (डेरा) कालिकास्थानमा र मेरो आफ्नै निवास भोटेबहालमा देखेको, बसेको, कुराकानी गरेको झलझली सम्झना भइरहन्छ । बनारसमा भेटेको, बसेको र कुराकानी गरेको सम्झना पनि आउँछ । उनीसँग निकै लामो समयदेखि यसरी निकटता भइरह्यो र आत्मीयता पनि बढ्दै गयो । 

मैले स्राहै श्रद्धा गर्ने स्रष्टा व्यक्तित्वहरुमध्ये पर्छन् – बालकृष्ण पोखरेल । पछि त एकदमै सँगसँगै हुन पुगियो– सम्पर्कले, कामले र पुस्तकले पनि । खास गरी प्रज्ञाप्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ मा उनले मेरो कुन खुबी देखेर हो सम्पादनमा लगाए । सम्पादनमा लाग्दा वर्षौं उनीसँगसँगै भइयो । निकै दिनसम्म त बालकृष्ण पोखरेल मेरै बासमा आएर शब्दकोशको संशोधन–सम्पादनमा सँगै लागेका थिए । बोल्दा बोलिरहन सक्ने र काम गर्दा ढाडै नसोझ्याई काम गर्न सक्ने उनको बानी देखेर म छक्कै पर्थें । उनी नाइँनास्ति गर्दैनथे । खाएपछि कुरा गर्दागर्दै दस–एघार बज्थ्यो । म भन्थेँ– “सर, धेरै ढिलो भयो । यहीँ सुत्नुहोस्, कोठा छँदै छ । म व्यवस्था मिलाउँछु ।”

उनी भन्थे – “होइन, त्यहीँ कालिकास्थान त हो नि, म जान्छु ।”

म दोह्रोयाउँथेँ – “टाढा नभए पनि बाटो सुनसान भैसक्यो, फेरि आधा घण्टा त लागिहाल्छ । डर पनि त हुन्छ ।”

उनी भन्थे – “म डराउन्नँ, पीर मान्नु पर्दैन । मैले कसरत गर्न सिकेको छु । सिङ्गै इँट एक हातले हानेर फुटाउँछु । एक–दुई जनासम्म आए भने भिड्न सक्छु ।” अनि उनी हिँड्थे । मलाई चाहिँ पीर नै लाग्थ्यो । 

बोल्न पनि सक्ने र लेख्न पनि सक्ने सर्जकहरुमा उपल्लो स्तरको व्यक्तिका रुपमा पाएको छु मैले बालकृष्ण पोखरेललाई । भाषा, साहित्य, संस्कृतिका हरेक पक्षमा उनी बेलीविस्तार लगाएर कुरा त गर्छन् नै, सामान्य कुरामा पनि उनी बिट मारेर बोल्छन् । 

एकपल्ट उनको ‘रुघा किन लाग्छ ?’ भन्नेबारे झन्डै एक घण्टासम्म बोलेका थिए । प्रसङ्ग हो प्रतिष्ठानकै । जाडो याम्, त्यसमाथि झमक्कै साँझ प्रयो । चिसोले हामीलाई नै समाउलाजस्तो भइसकेको थियो । उनी भने पटक्कै थाकेका थिएनन् । बल्लतल्ल कुरा सकियो र हामी बिदावारी भएर हिँड्यौँ । उनी पनि कालिकास्थानतिर लागे । 

हाम्रा पुर्खा दैलेखको पराजुलमा बसेर पराजुली भएछन् । बालकृष्णका पुर्खा पोखरान (पोखरी भएको थलो) बाट पोखरेल हुन पुगेका रहेछन् । त्यो पोखरेल र यो पराजुलीको भेट नेपाली भाषालाई माया गर्ने स्रष्टा–साधकको भेट थियो । त्यसैले नाम पनि जुरेर ‘कृष्ण’ र ‘बालकृष्ण’ भई मिल्न पुगेको हो कि के हो !

म बालकृष्ण पोखरेललाई मन पराउँछु उनको बानी–व्यवहारलाई मन पराउँछु । यस रुपमा म पोखरेलको एउटा प्रशंसक हुँ । बालकृष्ण पोखरेलले नेपाली भाषालाई जीवन्तता दिने प्रयास गरे । उनका ‘नेपाली भाषा र साहित्य’, ‘पाँच सय वर्ष’, ‘राष्ट्रभाषा’ आदि कृति यसका दृष्टान्त हुन् । ‘खस जातिको इतिहास’ जस्तो ठेलीदार ग्रन्थ पनि उनको श्रम र साधनाकै परिणति हो । 

पोखरेलले कथा र निबन्ध पनि त्यत्तिकै राम्रा लेखेका छन् । उनका कथा पढेर म मक्ख परेको छु भने निबन्ध पढेर मैले ट्वाक्क स्वाद लिएको छु । उनको योगदान कविता–काव्य र बालसाहित्य (खास गरी बालकविता) मा पनि राम्ररी फुलेको छ । 

०००

बालकृष्ण पोखरेलले भनेका थिए – “विश्वविद्यालयमा म बसिरहेँ भने तपाईंलाई अन्तर्वार्तामा प्राध्यापकका निम्ति अत्युत्तम भनी लेख्छु । तपाईंजस्तो योग्य साधक, सेवीले प्राध्यापक हुन पाउनुपर्छ बनाएरै छाड्छु ।” यो कुरा वाराणसीमा दुर्गा (दुर्गाप्रसाद श्रेष्ठ) को कोठामा भनेका थिए उनले । त्यस जमघटमा दुर्गाजीका साथै भार्गवभूषण प्रेसका लाला बन्धुहरु पनि थिए, तर पछि उनी विश्वविद्यालयमा बसेनन्, प्राज्ञप्रतिष्ठा पनि छाडे । राजनीतिक सत्ताका चक्रमा विद्वत्ता र प्रतिभाको क्षितिज साँघुरिने स्थितिको बादल मडारियो । मैले अवकाश लिँदा मात्र सहप्राध्यापक हुने संयोगसम्म ज्रुयो । बस, उनको त्यो उच्च मूल्याङ्कन र स्नेहचाहिँ केवल सम्झना भएर रह्यो । 

नेपाली भाषाका सम्बन्धमा बालकृष्ण पोखरेल भन्छन्– “नेपाली भाषाका पनि आफ्ना विशेषता छन् । आफ्नै प्रकारका रसिला–मीठा उखान छन्, सुनिरहूँजस्ता टुक्का छन्, आफ्नै प्रकारको माधुर्य छ, वाक्यगठनको आफ्नै प्रकारको शैली छ । शब्दचयनको आफ्नै प्रकारको मौलिक आधारशिला छ । यदि त्यस मौलिकतालाई चिन्यौँ भने हाम्रो लेखनशैली जनताका लागि लोकप्रिय हुन सक्छ । त्यसलाई चिनेनौँ र विदेशी ढाँचाको अनुकरणतर्फ अलमलियौँ भने हामीले जति नै दाबी गरे पनि, जति नै दम्भको माला भिरे पनि हाम्रो सीप खारिएको ठहरिँदैन ।” नभन्दै बालकृष्ण पोखरेलले आफूले पनि यस उक्तिलाई पूर्ण गरेका छन् र यसतर्फ लाग्ने स्रष्टाहरुको प्रशंसा पनि गरेका छन् । 

नेपालीमा साँच्चै नेपाली बनोट र बान्कीका भाषाशैलीमा रत्तिने र रौसिने लेखकहरु कमै छन् । त्यस्तै केही स्वनामधन्य व्यक्तिहरुमा म भेट्टाउँछु – पारसमणि प्रधान, पुष्करशमशेर, महानन्द सापकोटा, बालकृष्ण पोखरेल, डा. तारानाथ शर्मा, चूडामणि रेग्मी आदिलाई । बालकृष्ण पोखरेललाई यस दिशाका एउटा अगुवा हुन् भने हुन्छ । ‘राम्रो रचना : मीठो नेपाली’ भनेर कुर्लने यो कृष्णप्रसाद पराजुली पनि त नेपाली भाषामा आफ्नैपन, आफ्नै बनोट, आफ्नै बान्की र आफ्नै छरितोपनमा हुरुक्क हुने लेखक हो । 

बालकृष्ण पोखरेल मभन्दा दुई वर्ष जेठा हुन्, चिसापानीगढी, मकवानपुरमा जन्मेका । उनी वि.सं. १९९० मा, म १९९२ मा । उनको साहित्यिक नाम बालकृष्ण पोखरेल मात्र होइन, उनका अन्य साहित्यिक नाम पनि छन् । ती नाम हुन् – रुपावासी, केकेमनुक्च्यो पोखरेल, गढतीरे साहिँलो, हिमालपाने बराल, इसावापुर, लक्ष्मीविलास पाध्या, वसन्त र वत्सल । यो नालीबेली धेरैलाई थाहा छ, थाहा छैन भने पनि खोज्दै जाँदा थाहा पाउनेछन् । 

बालकृष्ण पोखरेलले २००८ सालमा वाराणसीबाट ‘युगवाणी’ मा ‘झ्याउरे नै किन ?’ शीर्षक लेख प्रकाशित गरेर आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका थिए । प्रारम्भमै ‘झ्याउरे नै किन ?’ भनेर कलम चलाउने पोखरेलले भित्रैदेखि नेपाली भाषालाई माया गरे, नेपाली संस्कृतिलाई माया गरे अनि माया गरे नेपाली साहित्यलाई । पोखरेलले भाषामा बलियो काँध थापे भने सृजनामा कथा, उपन्यास, निबन्ध आदि लेखेर नेपाली साहित्यलाई सकेसम्म उर्वर पारेका छन् । 

पोखरेलका ‘वसन्त’ र ‘वत्सल’ नाममा आएका उपन्यास पनि मैले निकैवटा पढेको छु । उनका उपन्यास वर्तमान रुचिका पारामा आएका उपन्यास हुन् – केही रोचकता भएका र जासुसी ढाँचा पनि मिसिएका, तर तिनमा पनि नेपाली जीवनका सुखदुःख, वार्तालाप र घटनाक्रमले उपन्यासलाई अरुभन्दा भिन्न र रमाइला–रसिला तुल्याएका छन् । 

एकपल्ट उनले भनेका थिए – “वसन्त र वत्सल मेरा छद्म नाम हुन् । अरुलाई भनेको छैन, गोप्य नै राख्नुहोला ।”

“हवस्, कसैलाई भन्दिनँ ।” भैले एउटा लेखकको इच्छामा सहमति जनाएँ, तर पछि उनी आफैँबाट त्यसको खुलासा प्रत्यक्ष भयो । मैले कसैलाई भन्ने–नभन्ने प्रश्नै रहेन । 

०००

केही वर्ष मात्र अघिसम्म हो, दर्सैताका रत्न पुस्तक भण्डारतिर पुग्दा उनीसँग भेट हुन्थ्यो । पूरै एक झोला उपन्यासका पाण्डुलिपि लिएर आएका देखिन्थे उनी । एउटा उपन्यास त दुई दिनमा पनि लेख्छु भन्थे उनी । रातभरि लेख्नलाई निद्रा नलाग्ने ट्याब्लेट खाएको कुरा पनि गर्थे । अरु कतिलाई निद्रा नलागेर निद्रा लाग्ने ट्याब्लेट खानुपर्छ । उनी भने निद्रा नलाग्ने ट्याब्लेट खाएर पनि लेख्ने, उदेकलाग्दो होइन त ? 

बालकृष्ण पोखरेल मेरा शुभेच्छुकमध्ये एक हुन् । उनको मप्रति स्राहै सकारात्मक धारणा छ । टेप गरी प्रकाशित भएको एउटा लेखमा मेराबारे उनको लेख नै प्रकाशित छ । 

पोखरेलसँग दिनभरि बसेर कुरा सुन्न मन लाग्छ । यता म धेरै बिरामीपछि सानेपामा बस्न थालेको छु । उनी बस्छन् विराटनगरमा । संयोग नै पर्दैन, एकपल्ट बागबजार मुखमा भेट भयो । पहिले उनले नै हात समाएर बडो मायालु पाराले मुख हेरी “अहिले कस्तो छ ?” भने । मैले बडो प्रसन्नता जनाएर बेसै रहेको कुरा गरेँ र आफ्नो झोलामा भएका नयाँ पुस्तक दिएँ । उनले खुसीसाथ पुस्तक लिए । हामी बिदा भयौँ र म रत्नपार्कतिर लागेँ, उनी बागबजारतिरै गए । 

बालकृष्ण पोखरेलसँग फेरि भेट हुँदै छ । मैले थाहा पाएको छु – प्रज्ञाप्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोशमा सल्लाह–सहयोग दिने क्रममा बोलाइएकाले उनी काठमाडौँ आएका छन् । मलाई पनि बोलाइएको छ । उनीसँग पक्कै भेट हुन्छ । कुराकानी पनि होलान् । म त्यो अवसरका निम्ति पर्खिरहेछु । 

०००

नभन्दै उनीसँग भेट भयो । नेपाली बृहद् शब्दकोशमा पचास प्रतिशत मेहनत मेरो परेको कुरा उनले बैठकमै बताए । खुसी लाग्यो । अहिले उनी विराटनगरमा बसेर एकाग्रतासाथ अङ्ग्रेजी अर्थसहितको नेपाली शब्दकोश लेखिरहेका छन् । उनको भनाइ छ – “नेपाली भाषालाई स्तरीय र पौष्टिक आहारयुक्त बनाउनुपर्ने खाँचो छ ।” धेरै वर्षको तपस्यापछि उनले ‘खस जातिको इतिहास’ निकालिसकेका छन् । शब्दकोश निस्क्यो भने अर्को महत्वपूर्ण प्राप्ति हुनेछ । 

जहिले पनि म बालकृष्ण पोखरेललाई सम्झन्छु, उनको योगदानलाई सम्झन्छु, उनको जाँगर र सुझबुझलाई सम्झन्छु–सम्झिरहन्छु । कुनै स्रष्टा–साधकका विषयमा मैले भारतमै पनि ठूलाठूला शब्दकोशजत्रा ग्रन्थ निकालेको देखेको छु । हामीकहाँ यस्तो प्रचलन कम छ । जीवित छँदै केही गर्न सके धेरै सार्थक हुन्छ । पत्रिपत्रिकाले विशेषाङ्क निकालेर भए पनि उनीहरुलाई सम्मान गर्नु राम्रो कुरो हो । त्यसैका निम्ति ढिलै होस्, थोरै होस् – केही कोरकार गरेको छु । म मनभरि सम्झना साँचेर उनीप्रति शुभेच्छाको माला अर्पिरहन चाहन्छु । बालकृष्णका सपना बिपनामा परिणत भइरहून् । मेरा पनि कति इच्छा अधुरै छन् । स्वास्थ्यले साथ दिइरह्यो  भने अहिले पनि केही न केही गर्दै जान सङ्कल्पित छ मन । अन्त्यमा फेरि भनूँ– मेरा निम्ति अझै उनी बालकृष्ण मात्र होइनन्, प्रौढकृष्ण नै छन् । बालकृष्ण र कृष्णको सृजनयात्रा आआफ्नै किसिमले चलिरहेको छ, चन्दै छ, चल्ने नै छ । 

ज्ञानगुनका कुरा : प्रकाशोन्मुख, २०६३