ग्रहनक्षत्रले जुँगा चलाउँदाका कुराहरू इतिहासका आँखाले बुझिहेर्दा
–बालकृष्ण पोखरेल
तारापुञ्जको विशेषज्ञ म होइन । म ज्योतिषी, अन्तरिक्षवेत्ता, खगोलवेत्ता या ब्रह्माण्डविशेषज्ञ होइन । अतः तारापुञ्जको चुचेचोलाको कपुरी क पनि मेरा लेखि दुर्बोद्य विषय हो । तैपनि यो अति प्राचीन शास्त्र भएको हुनाले यसको आटब्बे जङ्गलभित्र ऐतिहासिक प्रमाण लुकेर बसेका होलान् भनी शङ्का गर्नेहरूमध्ये एउटा म पनि हुँ ।
अनन्त आकाशमा कति खरब तारा छन् त्यसको गणना हुन सकेको छैन, तैपनि नौलाखे तारा भन्ने चलन हाम्रो समाजमा छ । खरबौं भन्दा पनि लाज मान्नुपर्ने कुरालाई लाख मात्र भन्न बानी परेका हाम्रा पूर्वजले वर्णन गर्दा अलिक नजिकका ठूला तारापुञ्जहरूलाई राशि नाउँ दिए । प्रत्येक राशिको चित्र कि भेडो (मेष), कि साँढे (वृष), कि दुई जम्ल्याहा (मिथुन), कि गँगटो (कर्कट), कि रैबाध (सिंह), कि कन्नेकेटी (कन्या), कि तराजु (तुला), कि बिच्छी (वृश्चिक), कि धनुष (धनु), कि गोही (मकर), कि घैला (कुम्भ) र कि माछो (मीन) जस्तो देखिने हुनाले यिनै आकृतिका आधारमा बाह्र राशिले नाम पाए । पाश्चात्य पञ्चाङ्गकारहरूले पनि नजिकबाट चित्र कोर्न सकिने यी बाह्र राशि (ग्रहपुञ्ज)लाई चित्रकार्य ग्रहपुञ्ज (साइन्ज अफ जोडियाक) नाउँ दिएका छन् । जोडियाक साइन भन्नु र राशि भन्नु एकै कुरो हो । यिनलाई युरोपेलीहरू क्रमशः यसरी गणना गर्छन्–१, एरिज (मेष) । २। टाउरस (बृष) ३. जेमिनी (मिथुन) । ४. क्यान्सर (कर्कट) । ५. लेओ (सिंह । ६. भर्गो (कन्या) । ७. लिब्रा (तुला) । ८. स्कर्पियो (वृश्चिक) । ९. स्यागितारियस (धनु) । १०. क्याप्रिकर्न (मकर) । ११. एक्वारियस (कुम्भ) तथा १२. पिस्केस (मीन) । यी ब्राह्र तारापुञ्जको फोटो हामी दुवै थरीले समान देखेका छौं, तर कतै–कतै भिन्न पनि छ ।
उदाहरणार्थ हामीले गोही देखेको राशिलाई पाश्चात्यहरू बोको देख्छन् । त्यो हो मकर राशि । कुम्भ राशि हाम्रो लािग पँधेर्नीले बोक्ने घैला छ, युरोपेलीहरूको लागि कुम्भ राशि स्वयं पँधेर्नी छे । धनुराशि हाम्रा लागि धनु छ तर पाश्चात्यहरूका लागि धनुर्धारी धानुक छ । प्रस्टै चित्र कोर्न मिल्ने हुनाले राशिका नाममा इतिहास न्यून मात्रामा लुकेको छ, तर घोरिएर विचार गर्दा यी वैज्ञानिक नामभित्र पनि इतिहास सुटुक्क नपाइएला भन्न मिल्दैन ।
बाह्र राशिहरू नजिक छन्, प्रस्ट छन् र चित्र कोरिने स्थितिमा भएकाले ती जम्मै चित्रकार्य ग्रहपुञ्ज (साइन्ज अफ जोडियाक) ठहरिआएका छन्, तर तिनका नामले केही मात्रामा भएपनि इतिहास बोकेकै छन् । उदाहरणार्थ बाह्र राशिमा मेष (भेडो) कहलाउने राशिमा इतिहास प्रशस्त लुकेको छ । काशी (कस्साइट) जातिलाई ग्रिसेलीहरू त्रागोस (भूत) भनी घृणा गर्थे । तर जब ईसापूर्व अठारौं शताब्दीतिर काशी (खस) जातिले आविष्कार गरेको अश्वारोहणले पूर्व दिशालाई इस्ट (आश्विन दिशा) र पूर्वीय संसार (आश्विन संसार)लाई आसिया बनेको देखे अतीतमा गधा (आस) भनेर घृणा गरिएका खसलाई आश्विन संसारका स्वामी माने । तिनलाई रिझाउन पात्रोको प्रथम राशिको नाम पनि तिनले मेष राखे । यद्यपि मेषराशि भित्र एकासी प्रतिशत जनसङ्ख्या खस (कस्साइट) बाहेक अरूकै थियो । माउन्ट कार्दुक (कार्तिकेय गिरि) का एक चौथाई काशी (खस) मात्रै अश्वारोहणका आविष्कारक थिए, तर ती अल्पसङ्ख्यक कात्तिके (खस)ले गर्दा स्तुतिकार पञ्चाङ्ग लेखक (अधिकांश ग्रिसेली)हरूले पात्रोको पहिलो राशिलाई खस (मेष)को मान्यता दिए । यस्तै हुन्छन् जहाँका पनि दहीचिउरे पण्डितहरू । बोको (त्राग्रोस) भूत थियो ग्रीसमा, ट्रेजिक थियो त्यो र अपशकुन थियो त्यो । तर जब मेष दुनियाँ (मकदुनियाँ)का द्वितीय फिलिप (सिकन्दरका पिता)ले ग्रीस जिते अप्सरवादी भार्गव पण्डित आर्स्टिसेन (एरिस्टोतल)ले त्रागोस (बोको अर्थात् खस) जातिलाई विरेचनको सिद्धान्त मार्फत् प्रशंसाको धुरीमा प्रुयाए । अझै ट्रेजेडी नाचमा नाच्ने कलाकारले ओडेको बोकाको रौंसहितको छालाले यसको पोल खोलिदिन्छ ।
कसले भन्दछ वृशराशि (टाउरस) अन्तरिक्षको एउटा ननजोडियाक साइन हो भनेर ? त्यो साइन अर्थात् चित्रलाई यवन ज्योतिषीहरूले गोरू झै देखे । किन खरायो झैं देखेनन् ? किनभने विजेता कार्तिकेय खसहरूको अधीनमा रहेको तत्कालीन क्षुद्रेसियाको वार्षगिरि (टाउरस पर्वत) भगवान् जेउसले रूपारानी (युरोपलाई नाम दिने युरोपा मैयाँ)लाई गर्भाधान गर्ने बेलामा धारण गरेको गोरूले लक्ष्य पूरा भएपछि ग्रहण गरेको पर्वतको रूप हो भन्ने कुरामा तत्कालीन क्षुद्रेसियालीहरूलाई गर्व थियो । अवश्य खसहरू पनि गर्व अनुभव गर्दथे वार्षगिरिको महिमामा । हो यसरी इतिहास बोल्दछ बृषराशिमा पनि । बृषमा मात्र होइन खोजे इतिहास पाइन्छ मिथुनमा पनि । इतिहास बाहिरी आँखाले मात्र देखिने कुरो होइन । त्यो हेर्न भित्री आँखा चाहिन्छ । मिथुन राशिको वर्ण शूद्र हो । त्यो शूद्र ऋग्वेदको पुरुषसूक्तमा वर्णित दिव्य पुरुषको गोडामा खोजे पाइन्छ । मैले दिव्यपुरुषको बाहु मानेको छु अजरबैजानको राजधानी बाकुलाई । मैले दिव्यपुरुषको मुख मानेको छु प्राचीन शुद्रेसियाको केन्द्र आङ्कारा (अङ्गिराऋषि)लाई । मैले दिव्यपुरुषको ऊरु (तिघ्रो) मानेको छु प्राचीन मेसोपोटामियाको ऊर साम्राज्यलाई । मैले ‘खस जातिको इतिहास’को आवरणमा दिव्यपुरुषको खुट्टो स्वीकार गरेको छु प्राचीन येमेनलाई । आधुनिक येमेनको समुद्री इलाका अझै सोकोत्रन आर्खिपेल्यागो (शूद्रद्वीपमाला) कहलाउँदैछ । हो, हरेक शूद्र खोज्न जानैपर्छ अतीतको शूद्रभूमिमै । जेमिनी खोज्न पनि येमेन पुग्नैपछि । अझ भनौं जेमेनीकै आधुनिक पर्याय हो येमेन । हाम्रो नेपालको याम्बूले सार्कमा जम्बूद्वीप जन्माउन सक्छ भने उता जेमिनीले येमेन किन नजन्माउने ? पक्कै जन्मायो येमेन जेमिनीले ।
ठीक छ जन्मायो येमेन प्राचीन जेमिनीले । तर जेमिनी त जम्ल्याहा (मिथुन) पो हुनुपर्छ । मिथुन हुनको लागि चाहे धर्मको होस्, जाहे संस्कृतिको होस्, चाहे सभ्यताको होस्, चाहे शरीरिक बनोटको या अनुहारकै किन नहोस् मिसमास चाहिन्छ । मिस्कट चाहिन्छ । अलिकति पनि त्यहाँ केही कुराको पनि अद्भुत दोभान छैन भने त्यसलाई मिथुन (जेमिनी) कसरी मान्ने दोभानको दर्शन नपाईकनै ? तर छक्क परें म यसपालि त्यहाँका भोकानाङ्गाहरू अधिनायकहरूका विरोधमा उफ्रिएको दृश्य देखेर । त्यहाँका प्रदर्शनकारी नरनारीका अनुहार शरीरको बनोट, अनुहारको ढप र छालाको रोगनका दृष्टिले पनि मिथुन
(दोभान) थिए युरोप र एसियाबीच । त्यस हुलका पच्चीस प्रतिशत त युरोपमा जाँदा पराई नदेखिने खालका थिए । अब पोल खुल्यो पञ्चाङ्गकारको, शूद्र भएर पनि कतै पनि राक्षस छैन मिथुन । मिथुनका साठी प्रतिशत देउता छन् । आधा प्रतिशत पनि राक्षस कतै भेटिन्न मिथुनमा ।
दुई संस्कृतिलाई मथेर मिथुन कसले बनायो होला जेमिनीलाई ? मेरो यो प्रश्न मैसँग प्रस्तुत छ । मेरो उत्तर पनि तयार छ । मेरो उत्तर छ पुरुषसूक्तको मुख (अङ्गिरा)बाट बसाइँ सरेका अङ्ग (ब्राह्मण) र शूद्रद्वीपका निवासी (शूद्र) बीचको लामो कलह शान्त पारे वामन भगवान्ले राजा बलिलाई पाताल भसाएर । बलिपक्षका दीर्घतमा ऋषिहरूलाई गौतम (आमु नदीतिरबाट आएका गोपाल)को मान्यता दिएर मिथुनमा परिणत गरे वामनले शूद्रभूमिलाई अर्थात् सोकोत्रन आर्खिपेलागो उत्तरको संसारलाई । कता धपाइए त राजा बलि ? ती सोकोत्रन आर्खिपेलागोभन्दा धेरै टाढा प्रुयाइए । मेरा विचारमा ब्राह्मण संस्कृति अर्थात् वेदका विरोधी अशोक, वेदविरोधी बौद्धधर्म र वेदविरोधी जैनधर्मका साजे पूर्वज हुन् वामन भगवान्द्वारा खेदिएका राजा वलि । मेरा विचारमा सनातन धर्म (शत्रुका गुरु शुक्र अन्धा हुँदा पनि तिथि आदि बार्ने उदार धर्म)का विरोधमा प्रस्तावित घम्मघोष (धर्मनिरपेक्षतावाद)का आरम्भबिन्दु हुन् वामनद्वारा निर्वासित राजा बलि । यदि वामनले उनीउपर मन्थनको लात्ती नबजारेका भए यो वेदविरोधी कदम चालिने थिएन । बलिकी पत्नीका पाँच भाइ पुत्र (अङ्ग बङ्ग सुह्य उत्कल कलिङ्ग)लाई वर्तमन गरिदिने ऋषि दीर्घतमा (गौतम अर्थात् गुतआमु)लाई पञ्चगौत नभनी पञ्चगौड भन्दछ आजको सार्क । सार्क बिचरोले बिर्सिसक्यो सुमेर भाषामा गाईलाई गुत भनिन्थ्यो र गोठालो हो गौत यथार्थमा । आमु दरिया नामक नदीतिर गाई चराउने गोठालो मात्र गौतम हो । सम्राट् डेरियस महान्ले आफ्ना अभिलेखमा गौतमलाई गौमाता लेखाएका छन् । सम्भवतः आमु दरियालाई कसैले माता पनि भन्थे । माझीहरूको कथामा आमा मारेर खुनोट भएका जो माझी छन् तिनकी तथाकथित आमा यिनै आमु दरिया हुन् मेरा विचारमा ।
म अब ओर्लन्छु मिथुनबाट कर्कट (गँगटो)मा । ऋग्वेदको पुरुषसूक्तको अनुसार बाहुन (अङ्गिरा) जन्माउने आङ्कारामा तीनथरीका बाहुन बाजे थिए । कर्कट (गर्ग)हरू, जसको मूलभूमि प्राचीन क्षुद्रेसियाको राधेय प्रदेश (लिडिया) थियो । श्रीकृष्णका पुरेत गर्गहरू यिनै कर्कटहरू थिए । अङ्गिराभूमि (आङ्कारा)का बिच्छी (वृश्चिक) जातका बाजेहरू दुई थरीका नागरसभ्यता (सिटी, कीटी अथाव कीट सभ्यता)लाई विष्णु भगवान्ले सुदर्शनचक्रले काटेर एक हुन दिएनन् । दुवै कीट (सिटी अर्थात् चेदी)हरूलाई सुदर्शनचक्रले गिंड्नु भनेको माथुर (राहु अथवा राघव) गोतका नागरहरूलाई तिमीहरू विप्र (हिब्रु) मूलका हौ भनी मणिपुरेली घोषित गर्नु हो । झर्रा नागर त शिरोभाग (केतु, सिटी, किटी इ) आदि मात्र हुन् भनी यसरी जनाइयो । श्रीराम, श्रीकृष्ण आदिहरू राघव मूलका हुन् भन्ने यहाँ झिनो सङ्केत मिल्छ । अङ्गिराको आशीर्वाद विना न मीनले, न वृश्चिकले न ता गँगटाले नै बाहुनको मान्यता पाए । तुर्केली भाषाको डिक्सनेरी पल्टाउँदा त्यहाँ पहिलो (व्यक्ति)लाई विरञ्चि भनेको सुनिन्छ । हाम्रा कोशहरूमा पनि ब्रह्माजीलाई विरञ्चि भनिन्छ । विप्रचित्तिकाण्ड र मधुकैटभकाण्ड राजा बलिका सन्तानले दीर्घतमाका विरुद्ध चालेका कदम प्रतीत हुन्छन् ।
❖
महिनाका नाम नक्षत्रमा आधारित छन्, तर वार (ग्रह) एवं वर्ण (जात) राशिमा आधारित छन् । परन्तु क्राइस्टेलीहरूको अगस्त महिना चाहिं नक्षत्रमा आधारित नभई राशिमा आधारित भएको छनक मिल्छ, किनभने अगस्त्यऋषिलाई कुम्भयोनि त्यसै भनिएन । स्पष्ट छ, अगस्त महिना भनेको कुम्भमास हो । अतः अगस्त महिना प्रायः भदौमै पर्छ । अगस्त्यऋषि (कुम्भयोनि)की माता कुम्भा नदी अथवा भद्रानदी ठहरिन्छिन् । कुम्भराशि र अगस्त महिनाको नाता यसरी स्थापित हुन्छ । कुम्भराशिका आधारमा जुन महिनालाई युरोपकाहरूले अगस्त नाउँ दिए पूर्वाभद्रा नक्षत्रको आधारमा हामीले त्यसैलाई भदौ भन्यौं । अर्थ यसरी खुल्छ– भदौरे भनेको अगस्टाइन रहेछ । नबिर्सौं सुभद्रा नदी, भद्रानदी, कुम्भयोनि, अगस्त्यमाता, कुम्भागङ्गा, भद्रागङ्गा आदि सबै एउफ्राटेस अथवा वरुणा गङ्गाका नाम हुन् । ठीक यसका विपरीत मित्रागङ्गा, चित्रागङ्गा, सुमित्रागङ्गा, अश्वी नदी आदि टाइग्रिसका नाम हुन् । हामीलाई यो ज्ञान नक्षत्रको अध्ययनबाट प्राप्त भएको हो । वरुणा (युफ्रेटिस) र अश्वी (टाइग्रिस)को बीचमा रहेको मेसोपोटामिया नै प्राचीनतम वाराणसी रहेछ भन्ने ज्ञान हामीलाई राशिको होइन नक्षत्रको अध्ययनबाट प्राप्त हुन्छ । जति ऐतिहासिक ज्ञान नक्षत्रभित्र लुकेको छ त्यति राशिभित्र लुकेको छैन ।
मैले राशिबाट ऐतिहासिक तथ्य उति धेर व्यक्त नभएको तर नक्षत्रबाट चाहिं निकै व्यक्त भएबारे गत पृष्ठहरूमा चर्चा गरेको छु । यसर्थ राशि विषयक गनथन छोडेर म अब नक्षत्रतिर बढ्दैछु । निकटको स्यानो ढिस्कोले पनि टाढाको विशाल आकाशलाई ढाकिदिन्छ । यही कारण हो निकटको एउटा राशिले टाढाका सबा दुई नक्षत्रलाई ओगटेका हुन्छन् । उदाहरणार्थ मेष राशि नामको निकटवर्ती तारापुञ्जले टाढाका सबा दुई (जम्मै अश्विनींजम्मै भरणींचौथाई कृतिका)लाई ओगटेको हुन्छ । कृतिकाका बाँकी तीन भाग बृषराशिमा पर्दछन् । तिनमा रोहिणी सिङ्गै र मृगशिरा आधा मिलेपछि बृषराशिले चर्चेको नक्षत्रजगत् पूरा हुन्छ । आधा मृगशिरा, सिङ्गै आर्द्रा र पचहत्तर प्रतिशत पुनर्वसुबाट मिथुन राशि पूरा हुन्छ । पच्चीस प्रतिशत पुनर्वसु, जम्मै तिष्य (पुष्य) र जम्मै अश्लेषाबाट कर्कट राशि पूरा हुन्छ । अङ्ग्रेजीमा अश्विनीलाई आन्द्रोमेदा, भरणीलाई एक्विला, कृतिकालाई औरिगा, रोहिणीलाई बोदतेस, मृगशिरालाई क्यानिस मेजर, आर्द्रालाई क्यानिस माइनर, पुनर्वसुलाई क्याराइन, तिष्यलाई क्यास्सिओपिया एवं अश्लेषालाई केन्ताउर भनिएको छ । मेषराशिको बार मङ्गल, जात क्षत्रिय र वश्य (पेसा) चतुष्पद
(पशुपालन) छ । बृषराशिको बार शुक्र, जात वैश्य र वश्य चतुस्पद (पशुपालन) छ । मिथुनराशिको बार बुध, जात शूद्र र वश्य द्विपद (कृषि वा व्यापार) छ । कर्कट राशिको बार सोम (असुर अथवा अनार्य), जात बाहुन र बश्य जलचर व्यवसाय छ । यसरी क्षेत्रीदेखि बाहुनसम्मको एक फेरो सकिन्छ । पुनः छेत्रीबाटै अर्को फेरो थालिन्छ ।
दोस्रो फेरोमा पनि नौ नक्षत्रै छन् र चारै राशि छन् । मघा जम्मै, पूर्वाफाल्गुनी जम्मै र उत्तराफाल्गुनी चौथाई मिलाएर सिंह राशि पूरा हुन्छ । यसको बार आइत, जात छेत्री र वश्य (पेसा) चतुष्पद (पशुपालन) छ । उत्तराफाल्गुनी पचहत्तर प्रतिशत, हस्ता जम्मै र चित्रा आधा मिलाएर कन्या राशि पूरा हुन्छ । कन्याको बार बुध, जात वैश्य र वश्य (पेसा) द्विपद (कृषि र व्यापार) छ । तुलाराशिमा चित्रा आधा, स्वाति जम्मै र विशाखा पचहत्तर प्रतिशत छ । तुलाराशिको बार शुक्र, जात शूद्र र वश्य (पेसा) द्विपद (व्यापार र खेती) छ । वृश्चिक राशिमा पच्चीस प्रतिशत विशाखा, जम्मै अनुराधा र जम्मै ज्येष्ठा नक्षत्र पर्छन् । वृश्चिकको बार मङ्गल, जात बाहुन र वश्य (पेसा) कीटपद वा सिटी व्यवसाय (अर्थात् नागरव्यवसाय) छ । दोस्रो फेरोमा पर्ने नवटै नक्षत्रका नाउँ अङ्ग्रेजीमा यी हुन् मघा (सिफेउस), पूर्वाफाल्गुनी (केतुस), उत्तराफाल्गुनी (दक्षिणी क्रुक्स), हस्ता (सिग्नस), चित्रा (ड्राको), स्वाति (एरिडेनस), विशाखा (हर्कुलस), अनुराधा (हाइड्रा) तथा ज्येष्ठा (लासेती) ।
तेस्रो अथवा अन्तिम फेरोमा पनि आरम्भमा छेत्री अनि वैश्य, अनि शूद्र र सबैभन्दा पुछारमा बाहुन पर्दछ । यस फेरोको प्रथम राशि हो धनु । धनुको इलाकामा पर्ने नक्षत्रहरूमध्ये मूल जम्मै, पूर्वाषाढा जम्मै र उत्तराषाढा चार आना (पच्चीस प्रतिशत) मात्रै हुन् । धनुराशिको बार बिही, जात छेत्री र वश्य
(पेसा) मनुष्य (दासव्यापार ?) हो । गोर्खाभर्ती– केन्द्र खुल्नुपूर्व नेपालको पनि सर्वाधिक ठूलो व्यवसाय दासप्रथा नै थियो । यस व्यवसायलाई नेपालको सुदूरपश्चिम र मध्यपश्चिमा हाण्डुप्रथा भनिन्थ्यो । यस फेरोमा पर्ने दोस्रो राशि हो मकर । मकरको इलाकामा पचहत्तरप्रतिशत उत्तराषाढा, जम्मै श्रवणी र आधा घनेष्टा हुन् । श्रवणी र उत्तराषाढाको बीचमा अभिजित नक्षत्र पनि देखिन्छ, तर अभिजितको उल्लेख पूर्वी पञ्चाङ्गमा सीमित छ । कुम्भराशिमा आधा घनेष्टा, पूरै शतभिषा र पच्चीस प्रतिशत पूर्वाभाद्रा नक्षत्र पर्दछन् । यस फेरोको अन्तिम राशि मीन हो, जसमा पूर्वाभाद्रा पच्चीस प्रतिशत, उत्तराभाद्रा सबै र रेवती जम्मै पर्दछन् । मकर राशिको बार शनि, जात वैश्य र वश्य (पेसा) चतुष्पद (पशुपालन) हो । कुम्भराशिको बार शनि, जात शूद्र र वश्य (पेसा) द्विपद (कृषि र व्यापार) हो । मीनराशिको बार बिही, जात बाहुन र वश्य (पेसा) जलचर (मत्स्याघात र सामुद्रिक डकैती ?) हो । अङ्ग्रेजीमा मूल नक्षत्रलाई लिरा, पूर्वाषाढालाई अफिउकस, उत्तराषाढालाई ओशिओन, श्रवणीलाई पेगारस, घनेष्टालाई पर्स्युस, शतभिषालाई पप्पिस, पूर्वाभाद्रालाई उर्सा, उत्ताराभाद्रालाई छोटी उर्सा र रेवतीलाई वेला (जलयात्रा ?) भनिन्छ । तर श्रवणी र उत्तराषाढाको बीचमा रहेको अभिजितको अङ्ग्रेजी मैले फेला पारेको छैन । अल्पज्ञानको कारणले होला । राशि प्रयो अभिजितको मकर नै । अभिजितको बार ठीक श्रवणीको झै शनि छ । जात पनि श्रवणीकै झैं वैश्य छ । वश्य पनि श्रवणीकै झैं चतुष्पद छ । वैरयोनि, गण र आसन भने अभिजितको आधा धनुराशिको उत्ताराषाढासँग र आधा मात्र श्रवणीसँग मिल्छ । अभिजितको योनि भने पूर्वार्धको उत्तराषाढासँग मिल्छ तर उत्तरार्धको अभिजितका दुई पाउ न श्रवणी न ता उत्तराषाढासँगै मिल्छन् । ती दुई पाउ (जोखा)को योनि अज (बोको) छ । के पाश्चात्य पञ्चाङ्गले मकर राशिलाई गोही नमानी बोको (क्याप्रिकर्न) मानेको अभिजितका यिनै दुई पाउ (जोखा) बोकेदाइ भएको आधारमा त होइन ? म झैं मूर्ख पण्डितले यो प्रश्न गरेकोमा माफ पाउला नै ।
मेरा विज्ञानका गुरु वेदानन्दझा भन्नुहुन्थ्यो चन्द्रमाको प्रकाश पृथ्वीमा आउन एक सेकेन्ड पनि लाग्दैन । सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न एक मिनेट पनि लाग्दैन । परन्तु ध्रुवताराको प्रकाश पृथ्वीमा आइपुग्न ८० वर्ष लाग्छ । आकाशका नौलाखे तारामध्ये कति ताराको प्रकाश पृथ्वीमा पुग्न हजार वर्ष लाग्ला । प्रकाश एक सेकेन्डभन्दा कम समयमा पृथ्वीमा पठाउने चन्द्रमा पुगेर फर्कन झन्डै एकहप्ता लाग्छ भने एक हजार वर्षमा प्रकाश हामीसम्म आइपुग्ने तारासम्म पुग्न कति लाग्ला, यसको उत्तर दिने क्षमता मान्छेको छैन । तैपनि विज्ञान हिम्मत गर्दैछ स्व. शैलेन्द्रकुमार उपाध्यायले सगरमाथालाई हाँक दिए झैं अन्तरिक्षलाई हाँक दिन । म चाहिं कुनै बाउन्ने फल टिप्न हात नपुगे पनि उफ्री–उफ्री रुखमुनि नाचे झैं नाच्ने कोटिको व्यक्ति भएकोले हात मास्तिर फैलाएर नाच्दैछु । म परमपिता अन्तरिक्षसँग क्षमा माग्दै नक्षत्रहरूको सहायताले मानवइतिहास जान्ने लोभलाई इस्तेमाल गर्दैछु ।
नक्षत्र सत्ताईस भनौं कि अट्ठाईस ? जे भने पनि कुरो उही हो । हाम्रा पूर्वजहरू भन्थे– बाह्रसत्ताईसका कुरा नगर् । बाह्र राशि र सत्ताईस नक्षत्र जान्ने विद्वान्को गफलाई यसो भनिएको होला । म ती दुईबारे केही नजान्नेको गफ पनि बाह्रसत्ताईसको भयो भने माफ पाउँला नै । लौ त थालौं अश्विनी नक्षत्रबाट आफ्नो गनथन म । जब अश्विनी एन्द्रोमेडा हो भनी गफ थाल्नै आँटको थिएँ, उफ्रिए एकजना अन्तरिक्षशास्त्री । बाफ्रे ! त्यो एन्ड्रोमेडा ज्यादै ठूलो छ । त्यो वेगले पृथ्वी भएतिर आउँदैछ । त्यो यहाँ आइपुग्यो भने पृथ्वी त के सौरमण्डलको मालिक सूर्य पनि धूलोपिठो हुनेछ । तर त्यो यहाँ आइपुग्न करोडौं वर्ष लाग्न सक्छ । ती महोदयसँग माफी माग्दै म इतिहासतिर फर्किएँ । मैले भनें एन्ड्रोमेडा भनेको मेडिटेर्रानियन सी (भूमध्यसागर)को आसपासको नर जाति (मान्छे) भनेको हो । ती एन्ड्रोमेडा
(अश्विनी)हरूलाई युरोपतिरकाहरू पहिले यास (गधा) भनेर घृणा गर्दथे । एसियाको प्राचीन अर्थ गधाको देश नै हो । तर यी गधाहरूमध्ये एउटा (कार्तिकेय)ले जब आफूले पालेर मासु मात्र खाने प्रयोजनमा सीमित घोडालाई अश्वारोहणमा प्रयोग गर्न थाले तिनको जताततै प्रशंसा हुन लाग्यो । ती आश्विनहरूमध्ये कोही हस्ती (हिट्टेली अथवा भरणी) थिए, कोही खास आश्विन (खस) थिए र कोही कार्तिकेय खस थिए । यी खसहरूलाई काशी पनि भनिन्थ्यो । स्थलगत उच्चारणभेदका अनुसार यी कीश कहलाउँथे । सुरुमा कीश साम्राज्यमा पुगेका खस (कीश)हरूले छागदेव एन्कीलाई पूजा गरे । तर जब ती मेसोपोटामियाको संस्कारमा बिलाए ती कीशलाई कार्तिकेय वन्धुहरूले बाँदर (कीश) नाउँ दिए ।
कार्तिकेय खसहरूको केन्द्र थियो खाण्डवदेश (काद्रवभूमि) । यसलाई पात्रोले अग्निकुण्डासन भनेको छ । अश्वारोहणको आविष्कार हुनुपूर्व नै कृतिका नक्षत्र अर्थात् अग्निकुण्डासन (खाण्डवदेश)बाट बसाइँ सरेर कृतिकाका चार पाउ (अइउए)मध्ये एक पाउ (अ) पुरुषसूक्त अनुसारको छेत्री उत्पन्न गर्ने बाहु (अर्थात् अजरबैजानको बाकु)तिर गइसकेको थियो । त्यो बाहु पुग्ने कार्तिकेय नै अश्वारोहणको नेता भयो । एसियालीहरूलाई गधा (यास) भनेर घृणा गर्नेर्े यूरोपेलीहरूले अब तिनलाई ठूलो प्रशंसा गरे पात्रोको प्रथम राशि एन्ड्रोमेडा (अश्विनी)बाट थालिने नक्षत्रलाई मेष (एरिज अर्थात् बोको) स्वीकार गरेर । सत्य कुरो के हो भने काशी (खस) जातिका सम्पूज्य भगवान् एन्की बोको नै थिए । खस जाति (कात्तिके)का सम्पूज्य भगवान् कुमार कार्तिकेय (षडानन)का छवै टाउका बोकाका भएबाट यो कुरो स्पष्ट हुन आउँछ । एउटा ठूलो ग्रन्थमा पनि अटाउन मुस्किल पर्ने अश्विनीबारे हाल यो भन्दा धेर नलेखौं ।
❖
अश्विनी नक्षत्रले इतिहासमा छोडेको छापबारे यति भनेपछि अब हामी भरणी (एक्विला) भएठाउँ पुग्छौं । हामी भरणीलाई हात्ती भन्छौं तर पश्चिमेलीहरू एक्विलालाई चील भन्छन् । हात्तीले पाएको अर्को संज्ञा नाग हो । लाग्छ मलाई, आफूलाई भर्मी भन्ने मगर (लाङ्गा/नाग) र आफूलाई हात्ती भन्ने भरणी एकै हुन् । दुवै लाङ्गा (नाग) हुन् । अर्थात् हात्ती हुन् । ठीक छ, भरणीको अर्को परिचय एक्विला (चील) पनि गलत ठहरिन्न । किन बिर्सने हामीले चील गरुड पनि हुनसकछ । फ्रिजियाका शासक आफूलाई गोर्डियस
(गरुड) लेख्थे । सातथरीका आश्विनले तानेको रथका सारथी गरुड नै थिए । गरुडका पनि मालिक थिए काशी नरेश अ । अर्थात् ॐ (अंउंम) मध्ये अ चाहिं । त्यसै विरञ्चिलाई प्रथम भनेका होइनन् तुर्केलीहरूले ।
अब आयो कृतिकाको पालो । कृतिका अर्थात् अइउए । यी मध्ये मेष राशिमा प्रवेश पाएर प्रतिष्ठित भयो आश्विन अ । शेष (इउए) बृषराशीमा परे । यी वैश्य कहलाए । पुरुषार्थ ग्रयो एक्लो अले, तर जस पाए वैश्य बनेका इउएले पनि । पश्चिमेलीहरू जम्मै कृतिकालाई रथारोही (औरिगा) मान्दछन् । अश्विनीका चारै पाउ (चुचेचोला) खस भए पनि तिनलाई बोको भनेको सुनिंदैन ।
बृषराशिको केन्द्र बार्षगिरि (टाउरस)को आसपासमा थियो । अग्निकुण्डासन कार्तिकेय (इउए)का अतिरिक्त वार्षागिरिमा रोहिणी मूलका नाग र मृगशिरामूलका नाग पनि थिए । नभुलौं यी नागहरू पनि हिट्टेली (हस्ती) थिए । यी थिए फ्रिजियाली (गरुड)का शत्रु । रोहिणीलाई पश्चिमाहरू बोदतेस (गोठालो) मान्दछन् अनि मृगशिरालाई क्यानिस मेजर (ठूलो कुक्कुर) मान्दछन् । रोहिणी नामकी नदी वार्षगिरि
(टाउरस) निकट फेला परेकी छन् । अतः त्यहींकी गोठाल्नी रहिछन् यी नदी । मृगशिरा नामकी गोठाल्नी दिदीलाई नाग मान्दछ सनातनी पात्रो, तर तिनलाई ठूलो कुक्कुर मान्दछ विधर्मी पात्रो । नाग (हात्ती)लाई कुक्कुर किन मानेको होला ? प्रश्न जटिल छ । मृगको टाउको कुल्चने (मृगशिरा)को काम गर्ने नागहरू रगतले हिट्टेली (नाग) भए पनि कर्मले कुकुर भएको यो प्रमाण हो । कारण मृग (भार्गव)को टाउको कुल्चेको हुँदा ती हाम्रा लागि नाग (हात्ती) भए पनि पश्चिमाहरूको लागि कुक्कुर ठहरिए । वार्षगिरितिरबाटै फुरात नदी (एउफ्राटेस) जन्मने हुनाले र त्यही नदीले तल गएर पुरुषसूक्तको दाहिने तिघ्रो निर्माण गर्ने हुनाले वार्षगिरिकाहरू वैश्य भए । मृगशिराको प्रथम दुई पाउ (बेबो)का साथै बृषराशि समाप्त हुन्छ । मृगशिराका अन्तिम दुई पाउ (काकी)सँग मिथुन राशि थालिन्छ ।
वार्षगिरिको माउन्ट अरारततिर फर्केको भागमा जति मृगशिरेली (काकी) थिए ती पछि शूद्रभूमि बसाईं सरेपछि शूद्र कहलाए । छिमेकको माउन्ट अरारत (आरभटगिरि, आरट्टगिरि या भट्टगिरि) ले नै आर्द्रा नक्षत्रलाई नाउँ दियो भन्ने कुरामा शङ्का छैन । आर्द्रालाई पश्चिमाहरू क्यानिस माइनर (छोटी कुत्ती) भन्छन् । हाम्रो सनातनी पात्रोमा पनि यो कुकुर नै छ । हाम्रो पात्रोमा पुनर्वसु नामले प्रसिद्ध नक्षत्रका शूद्रहरू प्राचीन क्षुद्रेसियाको बुनर्बासी भन्ने ठाउँबाट बसाईं सरेर पुरुषसूक्तमा शूद्र भएका बिराला हुन् । मैले जम्मै बिरालाहरूलाई विट्ठलदेश (इटली)बाट आएका मानव मानेको छु । विट्ठलदेशबाट वुनर्वासी आए अनि शूद्रलोक (सोकोत्रा) गएर शुद्र भए । शूद्रलोक (पुनर्वसु)को अन्तिम पाउ (ही) चाहिं अङ्गिरापुरीमै रह्यो र बाहुन हुन सफल भयो ।
बुनर्बासी (पुनर्वसु)को विट्ठल मूलतः शूद्र छ, तर कर्कटलाई टेक्न सफल भाग (ही) चाहिं बाहुन छ । चाहे शूद्र होस् चाहे बाहुन सबै विट्ठल (बिरालो/इटली)को रगत एकै हो । त्यो क्याट नभई क्याथोलिक कसरी भयो, सोचौं । क्याट–सभ्यता र विडाल (विट्ठल) सभ्यतालाई कन्स्टान्टिनोपल निकटको बुनर्बासीसँग र ट्रोयको महासमरसित जोड्न महाकवि भर्जिलको महाकाव्यले पनि सघाउन सक्छ । ठीक पुनर्वासीको ही–नामक बिरालो झैं तिष्य (हुहेहोडा)का जम्मै पाउ बोकाप्रसाद अर्थात् अजकान्त भन्न मिल्ने बाहुन छन् पात्रोमा । भन्नाले पुरुषसूक्तको गीत गाइने बेलामा यी बाजे हुन पाए अङ्गिरा लोकमा सो समयमा भएकाले । अन्तरिक्षभित्र सारा सृष्टिको अनादिदेखि अनन्त सम्मको गाथा भए झैं मान्छेले नाउँ काड्न भ्याएका तिनका संज्ञा अथवा हुलियाभित्र मानवको इतिहाससम्म छ भन्ने कटुसत्य यसरी जाहेर हुन्छ ।
गँगटो नाउँ पाएका बाहुन बाजे (कर्कट)ले ओगटेको तिष्य (पुष्य) बोकेदाइ मानिन्छन् पात्रोमा, तर ती सर्वत्र बोकेदाइ छैनन् । मीनराशिले नाउँ काडेको पिस्केस (पुष्य)मा र मगरसमाजमा पाइने डिस्या
(तिष्य) मा ती माछा पनि छन् । पुष्य फूलको थुँगो (पुष्प) भएको छ हाम्रो समाजमा र फूलको थुँगो
(तुष्क) बनेको छ हाम्रै समाजमा । अनि इटलीमा यो तिष्य फूलको बगैंचा (तुस्कानी) बन्न पुगेको छ अत्रिलोक (एत्रुरिया) नामक स्थलमा । त्यस ठाउँनिर अझैं बाटिकापुरी (फ्लोरेन्स) छँदैछ । तर पुरुषसूक्तकालले अङ्गिरालोकमा भएबापत बाहुन हुन पाएको यस फूलको थुँगोलाई खस (बोकेदाइ)का रूपमा चिन्यो । खसहरू बाहुन पनि हुन् भन्ने प्रमाण हो यो बोकेदाइ । नेपाली छेत्रीहरू हो, सुन कान थापेर ! हामी मात्र खस हौं भनी नेपालमा अर्को १०४ वर्षको भाग हसुरेर लिब्याको गद्दाफी बन्ने तिम्रो सपना सही होइन । सुन, हामी बाहुनहरू पनि खस हौं । खस (बकरी) गा.वि.सको केन्द्र बरमपुरा किन छ बिराटनगरमा ? के बकरीको बरमपुरा बाहुन बाजे होइन ?
कर्कटको अश्लेषा पुनः बिरालो छ । मूल विट्ठल (बिरालो/क्याट/क्याथोलिक) लुकाएको छैन पात्रोले । तर पुरुषसूक्तको गायनकालमा अङ्गिरालोकमा रहेकाले बाहुन हुन पायो यो अश्लेषाले । मूषा खाने काम साँपको पनि हो र बिरालोको पनि हो । मूसाको शत्रु भन्ने श्लेष (साँप) अर्थ लाग्ला भनी उक्त भ्रमलाई निवारण गर्न अश्लेषा भयो यो बिरालो । मूसाको शत्रु हुँ तर बिट्ठल (बिडाल) हुँ, साँप होइनँ म भनी कुर्लने बाहुन हो अश्लेषाको बिरालो । एकातिर साँप झैं शत्रु र अर्कोतिर बिडाल झैं शत्रु ! दुई दुर्दान्त शक्तिका बीचमा परेर पनि मूसो कसरी बाँच्यो, हामी यो कुरो मघाको दशगजा कुल्चेर सिंहराशिमा पुगेपछि चाल पाउनेछौं ।
लौ, पुग्यौं हामी सिंहराशिको मघामा । अझ भनौं क्षत्रिय हौं भन्ने मूसाहरू भए ठाउँ । जलका साँप नाग हुन् । अर्थात् ती भर्मी (भरणी वा लाङ्गा) हुन् । ती न्याउरी (गरुड)का मात्र शत्रु हुन्, ती मूसाका शत्रु होइनन् । तर स्थलीय सर्पहरू मूसाका ठूला शत्रु हुन् । मैले स्लाभ, सर्ब, श्रावण आदिलाई सर्प मानेको छु । केन्तुमभाषीहरू सर्पलाई कर्प भन्दथे । यही कारण हो तिनले सर्पगिरिलाई कार्पेथिपन पर्वतमाला नाम दिएका छन् । युरोपमा सतेमहरू सर्पिल भन्न सर्पेन्टाइन भन्दथे, तर केन्तुमहरू कार्पेथियन भन्दथे । हो, यी सर्पेन्टाइन र कार्पेथियनहरू मूसाका शत्रु थिए, ठीक विट्ठल (बिरालो)का कोटिका शत्रु ।
धन्यवाद दिनुपर्छ मूसाहरूले नेगुस्नागास्त (नागराज/घनघाङ्घल)हरूलाई जसले मूसालाई शत्रु मानेनन् । भेनिसको पुरानो नाउँ भेनेतीलाई हाम्रा पुराणमा विनता भनिएको छ । पुराणले विनताका दुई भाइ छोराको वर्णन गरेको छ – एक अरूण र अर्को गरूड । अरूणको नाम ग्रीसको इतिहासमा औरानोस छ । गरुडको नाम प्राचीन क्षुद्रेसियाको इतिहासमा भार्गवभूमि (फ्रिजिया)को स्वामीका रूपमा उल्लिखित छ । राजा गोर्डियसको नाममा निर्मित फ्रिजियाको राजधानी गोर्डियमलाई संस्कृतमा गरुडपुरी, रुक्मपुर आदि नामले व्यक्त गरिएको छ । यसलाई सुवर्णगोत्र अथवा स्वर्णपुरी पनि भनिएको छ । यी गरुडहरू नाग (लाङ्गा)का शत्रु नभए पनि सर्पका शत्रु थिए । यी गरुडहरू विट्ठल (विडाल)का पनि हितैषी थिएनन्, किनभने विनताभूमि (भेनेती/भेनिस)का बैनतेयहरूलाई लखेटेको रोमका विट्ठल (बिराला)हरूले थियो । अतः गारुडहरू आफूलाई विनताभूमिबाट लखेट्ने विट्ठलका बाफवैरी भएको भेद प्राचीन क्षुद्रेसिया निवासी मूसा (मूषिक)हरूलाई थाहा थियो । फलस्वरूप प्राचीन क्षुद्रेसिया निवासी मूसा (मूषिक)लाई विट्ठल र सर्प दुवैले केही गर्न सकेनन् । वास्तवमा विट्ठल एवं सर्प (श्लाभ)ले मूषा भनेर हेपेको मघा मेष राशि (एरिज)लाई नाम दिने खस थियो । संसारमा अश्वारोहणको आविष्कार गरेको यसकै काशी पुर्खाले थियो । पात्रोका सबै छेत्रीहरूको पहिचान यसैसँग आबद्ध छ । मेष राशिमा खसलाई भेडो (बोको) भनेर हेपियो, सिंहराशिमा मूसो भनेर हेपियो र धनुमा कुकुर भनेर हेपियो । बाँदर भनेर हेपिएकाहरू चाहिं अन्तर्घाती खस हुन सक्छन् । श्रवणीका क्याप्रिकर्न समूहका खसलाई र पूर्वाफाल्गुनीका शायन (साँप) समूहका खसहरूलाई बाँदर भन्नुका पछि यही कुराको हात हुनुपर्छ । अथवा नाग (शायन) भएर पनि खस (तथाकथित कुक्कुर)को विरोध गरेको हुनाले पूर्वाफाल्गुनी बाँदर ठहरिएको होला ।
❖
हामी यतिखेर मघामै छौं, अतः पूर्वाफाल्गुनीको शायनसम्म अहिले पुग्नु एक प्रकारको हतारो मात्र हो । अतः नछोडौं मघालाई । घोग र माघोग झैं विश्वव्यापी अनुश्रुतिमा फेला पर्ने प्रसङ्गको माघोगसँग सम्बन्ध राख्छ हाम्रो माघले । इन्द्र यसै माघोगकै आधारमा मघवा कहलाए । प्राचीन क्षुद्रेसियामा घोगलाई गोग र माघोगलाई मागोग भन्थे । बेलाइतमा यी दुई बझौटेहरूको नाममा बनेको स्मारक लन्डनको गिल्डहलमा छ । अरबहरू यी दुईलाई क्रमशः याजुज र माजुज भन्छन् । हाम्रो बालकथाकी घोग्घे रानी घोगकी नायिका हुन् । हाम्रो मुगु हो माघोग र छिमेकी मानसरोबरतिरको गुगे हो घोग । मेरा विचारमा मित्रराष्ट्र भारतको गुजरात घोग हो र त्यहाँको महाराष्ट्र माघोग (मधवा : इन्द्र) हो । यत्रो शक्तिशाली मघवा (मघा)लाई मूसो ठानेर हेप्नेहरू थिए बिराला र साँपहरू । मघा (माघोग)को शत्रु घोग (गज) नहुनुपर्ने, किनभने गज त नाग (हात्ती/हिट्टेली) हो । परन्तु कारणवश ऊ विट्ठल एवं सर्पहरूको प्रभावमा परेर घोग्गेराजा (घोग) भएर पनि मघवाको शत्रु हुनपुग्यो । पुराणमा घोग्गेराजा (किङ गाइजेस अथवा जाइजेज)लाई काशीराज इन्द्रद्युम्नको अवतार मानेको छ । पुराणले इन्द्रद्युम्नको अवतार स्वीकार गरेको घोग्गेराजाले पापको फल भोग्छ गजेन्द्रमोक्ष अन्तर्गत । ऊ मघवा (इन्द्र)द्वारा परास्त हुन्छ । इन्द्रले उसलाई ऐरावत हात्ती बनाउँछन् । उसको नाम (ऐरावत) कै आडमा पच्छिमाहरूले मेष राशिलाई एरिज भनेका होलान् । एरिज (खस/बोको) भएर पनि नाग (हात्ती)को अभिनय गरेकाले ऊ ऐरावत कहलाएको हुनसक्छ । ऊ अर्थात् हाम्रा केटाकेटीले अझै नबिर्सिएकी घोग्गेरानीको स्वामी । म एक वाक्य एउटा अझ थपूँ–गुग्गुकटेलको पूर्वज ! कुक्कुर कटेल गाली हो, तर सो गाली पनि इतिहाससम्मत छ, किनभने खसले पाएका गालीमध्ये एक कुक्कुर पनि हो । खसको एक शाखा (शक)लाई अझै इरानकाहरू कुक्कुर (सग) भन्दैछन्) । गुप्तकालीन केही अभिलेखमा शक (खस जातिको इरानी शाखा)लाई कुक्कुर भनिएको छ ।
सिंहराशिको बार आइत हो, जो छेत्रीको मात्र पेवा छ । कर्कट राशिको सोमबार पनि, ठीक त्यसरी नै, बाहुनको मात्र पेवा छ । आर्य भनेकी माता अदिति (ऋ)को सन्तान भएकोले मैले सूर्यलाई आर्य मान्ने गरेको छु । सोम (हओम) असुर (अहुर)को मास्टर (मस्त) भएको आधारमा मैले चन्द्रमालाई अनार्य मान्ने गरेको छु । बुध आफ्नी आमा (तारा)का तिरबाट आर्य ठहरिने हुनाले आफ्ना अनार्य पिता (चन्द्रमा)लाई घृणा गर्छ । आफ्ना अनार्य पिता (चन्द्रमा)लाई घृणा गर्ने बुधलाई मङ्गल देखिसहन्न । सिंहराशिको सिंहको शत्रु पात्रोमा हात्तीलाई मानिएको छ । पक्कै यो ऐरावत हात्ती हो । यसमाथि चढ्ने सिंह हुन् मघा
(मघवन्इःन्द्र) । यिनलाई हेपेर मूसा भन्ने को–को हुन् यसअघि नै बताइयो । सिंह राशिको मघाको आसन महिष (भैंसी) छ । भन्नाले ग्रीसको महिषपुरी (माइसिनी) माघोगको विपक्षी थियो । परन्तु योनि मूसो भए पनि पूर्वाफाल्मुनीको विपक्षी शीला छ । त्यो शीला साइलेसिया हो अथवा होइन, खोजी हुन बाँकी छ । उत्तराफाल्गुनीको योनि गाई छ, र प्रथम एक पाउ (टे) मात्र सिंह राशिमा छ । बाँकी तीन पाउ (टोपपी) कन्याराशिमा छन् । युगौं बितिसक्ता पनि आजको क्षुद्रेसियामा एउटा ठाउँको नाम कोन्या छ । यसले प्राचीन कन्याको सम्झना दिन्छ । गाईको शत्रु बाघ मान्दछ पात्रोले । यसभित्र पनि इतिहास लुकेको छ । बाघ भनियो टाइग्रिस (चित्रा) नदीलाई । त्यसलाई मित्रा, सुमित्रा, अश्वी आदि पनि भनिन्थ्यो । यसको विशाल गौचर असुरक्षित भएकाले यहाँका चरनमा चर्न आएका गाईहरूलाई हरण गरेर भगाइन्थ्यो र काटेर भोज लडाइन्थ्यो । यही कारणले होला पात्रोमा गाईको वैरी बाघ मानियो । टाइग्रिस नदीबाटै अङ्ग्रेजहरूले बाघलाई टाइगर भन्न जाने ।
टाइग्रिस नदी वैदिक दिव्य पुरुषको देब्रे तिघ्रोलाई न्वारान गर्ने आधार पनि हो । वैदिक पुरुषसूक्तको दाहिने तिघ्रोको नाम चाहिं ऊरू (बरुणा/एउफ्राटिस) थियो । एउफ्राटिसको शाब्दिक अनुवाद सुभद्रा हुन्छ, जसले हामीलाई पात्रोमा शूद्र पूर्वाभाद्रा मार्फत् दिन्छ । भदौ महिनालाई नाउँ दिंदा न ओर्दा एउफ्राटिस (और्वगङ्गा) शूद्र बनिसकेको हुन्छ । यो वैश्य इलाकामा छँदा यसले खास पुरुषार्थ गर्देैन । तीनवैश्य छन् पात्रोका । एउटा बृषराशिको वार्षगिरि (टाउरस) भएर बग्ने एउफ्रेटिस भैहाल्यो । नामै उच्चारण नगरी सुटुक्कै एउफ्राटिसले वैश्यको भूमिका खेलिछन् वार्षगिरितिरै भन्ने कुरो बुझ्नुप्रयो हामीले । अर्को भूमिका खेल्यो टाइग्रिस (चित्रा/तिघ्रेगदी)ले वैश्यको हाक्काहाक्की । यी भए साधारण मान्छेका दुई तिघ्रा । तर पात्रोमा त तेस्रो वैश्य (तिघ्रो) पनि छ । त्यो आरम्भ हुन्छ उत्तराषाढाको अन्तिम तीन पाउ
(भेभोज)सँगै । त्यो कायम हुन्छ घनेष्टाको अग्रिम दुई पाउ (गागी)सम्म । धनेष्टाका पछिल्ला दुई पाउ
(गूगे) उप्रान्त थालिन्छ शूद्र अर्थात् पादप्रदेश । उसोभए यो वैश्य (धनेष्टाको गागी सम्म फैलिएको) के हो त ? मैले यसलाई वामन भगवान् (क्रिवित्रम)को तेस्रो तिघ्रो (शिश्न) मानेको छु । अरू तिघ्रा (चित्रा र और्वा) तल शूद्रलोकसम्मै पुग्छन् दिव्यपुरुषको गोडासम्मै छुन, तर यो तेस्रो तिघ्रो (शिश्न) चाहिं वैश्यलोक (तिघ्रो)मै टुङ्गिन्छ । मैले वामन भगवान् (क्रिवित्रम)को तेस्रो तिघ्रो टुङ्गिने स्थल लेक भ्यान (बानियाँ छेत्रीको उद्गम भएको बानियाँ सरोवर)लाई मानेको छु । श्रवणी नक्षत्रले संस्कृतमा यसै ताल (श्रावण) बाट नाउँ पाएको हो । थुप्रै खोलाहरूको पानीबाट ज्यादै धनी भएको श्रावण ताल (लेक भ्यान अथवा बानियाँ ताल)मा थुप्रै खोला मिसिएको दृश्य देखिन्छ, तर यस तालबाट पानी बगेर कतै गएको देख्न पाइन्न । लगभग तीन हजार सातसय पचास माइल क्षेत्रफल भएको यो श्रावण ताल सम्भवतः मानसरोवरभन्दा विशाल छ । झन्डै काठमाडौं उपत्यकाको उँचाइमा फैलिएको यो ताल हाल टर्कीको भ्यान प्रान्तमा पर्दछ । यस श्रावण तालको पानीबाट सत्ययुगदेखि नै लुगा धुने साबुन बनाइन्थ्यो । श्रावण तालबाट तयार भएको हुनाले नै अतीतमा लुगा धुने वस्तुले सावन (श्रावण) नाउँ पायो । अङ्ग्रेजी भाषाको सावनवाची सोप शब्द पनि श्रावणको श्रावबाट उत्पन्न भए झैं छ । साउने वैश्य (शिश्न) गुप्तरोगको लागि कुख्यात हुने हुँदा हाम्रो समाजमा साउने सँग्रातीका दिन मध्यरातमा झरो बालेर लुतो (कण्डारक–रोग अथवा मुझवत् रोग) भगाइन्छ । मङ्गलग्रहकी माता कू (मर्त्यलोक)को जननेन्द्रियको प्रतीक ठानिने श्रावण तालभित्र प्रवेश गरेपछि क्रिवित्रमको तेस्रो तिघ्रो त्यसमुनि देखा पर्दैन ।
चित्रा (टाइग्रिस वा तिघ्रा)को गनथनले गर्दा पात्रोका सबै वैश्य तुर्नुप्रयो हामीले । चित्राको अन्तिम दुई पाउ (ररी) तुला राशिका शूद्र छन् । चित्राका वैश्य (पेपो) झैं यी शूद्रको पनि पेसा (वश्य) द्विपद (खेती र व्यापार) नै भयो । आसन जुन चित्राको पनि मयूरासन हो । मयूरलाई प्रशासनको शुभचिन्ह स्वीकार गर्ने एकथरी शक कुशान थिए । माथि भनिसकियो शोकोत्राभूमि (शूद्रलोक)मा नपुगी कोही शूद्र भएनन् । मूल चित्रा (टाइग्रिस) भए पनि पुरुषसूक्त कालमा शूद्रलोक पुगेको हुनाले यो बाघ (चितुवा) शूद्र भयो । चित्राको ररी तुलाराशिको (व्यापारी) भए पनि बसोबासले यसलाई शूद्र बनायो । स्वाति (रूरेरोता)को जातीय पहिचान भैंसी छ । भैंसी ग्रीसको माइसिनी (महिष) मूलको हो भनिसकिएको छ । पेसा स्वातिको पनि व्यापार (द्विपद) भइहाल्यो । आसन चाहिं स्वातिका महिषहरूको दोलासन छ । दोलासनलाई मैले ग्रीसको डोरिस राज्य मानेको छु । स्वातिपछि आउँछ विशाखा (तितुतेतो)को बाघ । यो बाघ अरू कोही नभएर कार्तिकेय उपासक खस हुन् । यसैले यिनको प्रमुख (आसन) अजासन कहलाएको छ । परन्तु विशाखाको अन्तिम पाउ (तो) अजासन भए पनि बृश्चिक राशिको मङ्गलबारे बाहुन छ । पुरुषसूक्त कालमा अङ्गिरालोकमा रहेकाले पात्रोले यसलाई बाहुन मान्यो । वृश्चिक राशिको प्रत्येक मङ्गलबारे बाहुन काद्रवगैरी हुँदै प्राचीन अङ्गिराभूमि पसेको हुनु सम्भव छ, किनभने मान्छेलाई मङ्गल बनाउने अधिकार श्रावणी ताल
(लेक भ्यान)को निकटवर्ती भूमिको मात्र थियो । ज्ञातव्य कुरो के छ भने ग्रहमध्ये आइत (आर्य) छेत्रीको पेवा, सौं (अनार्य) बाहुनको पेवा एवं मङ्गल र बिही चाहिं बाहुनछेत्रीका साझे छन् । ठीक त्यसै गरी बुध, शुक्र र शनि वैश्य र शूद्रका साझे छन् । वैश्य र शूद्रको कुनै ग्रहमा पेवा अधिकार छैन । वृश्चिकमा विशाखा बाघ छ । यसको आसन अजासन छ । अनुराधा मृग छ र आसन हंसासन छ । ज्येष्ठा पनि मृग छ र आसन कच्छपासन छ । तीनैको पेसा (वश्य) कीटपद (शहरी व्यवसाय) छ । कीटबाटै संस्कृतमा केतु (केतन आदि) र अङ्ग्रेजीमा सिटी (किटी) आए । संस्कृतमा केतनको अर्थ शीर्षभाग भए झैं सिटाडेलको अर्थ केतन नै छ अङ्ग्रेजीमा । तर अङ्ग्रेजको क ह मा परिणत हुने नियम (कातोन हन्ड्रेड भए झैं) केत हेड भएको पाइन्छ । केत नै हेड भएको हो भन्ने ज्ञान अङ्ग्रेजहरूमा छ–छैन मलाई थाहा छैन ।
❖
वृश्चिकका मृगहरूलाई हामी हरिण नठानौं । बाटो (मार्ग) जसले देखाउँछ त्यो मृग हुन्छ । यात्राको बाटो, धर्मको बाटो अथवा कुनै पनि कुराको बाटो देखाउनेहरू मृग कहलाउँथे । कुकुरले जसरी सुँघेर बटो पत्ता लगाउँछ त्यसरी बाटो पत्ता लगाउने हुनाले यी कीटपदीय (सिटी–फोक)हरू मृग कहलाए । पात्रोमा शकजातिका खसहरू कुक्कुर, कुशान जातिका खसहरू पनि बाघ, कूज जातिका केही खसहरू घोडा र अग्निकुण्डासन जातिका खस बोकोका रूपमा छन् ।
बोको खसको अनादरणीय नाम हो । घोडा यसको परम आदरणीय नाम हो । बाध र कुक्कुर खसका ठिक्कका नाम हुन् । परन्तु बाँदर चाहिं खसको लागि गाली नै हो । पथभ्रष्ट माङ्गलाई तामाङले माङ्गर (बाँदर) भन्नु आदि झैं उदाहरणले प्रमाणित गर्छन् कुनै पनि पथभ्रष्टलाई बाँदर घोषित गर्ने चलन सार्वभौमिक रहेछ । यी पथभ्रष्ट बाँदरहरूमध्ये किष्किन्धा एवं सुमेरका कीशहरू अवश्य खस मूलका बाँदर थिए । पात्रोका बाँदरहरू पनि भ्रष्ट खस हुनु सम्भव छ ।
हामी चर्चा गर्दै थियौं वृश्चिकका मृग (अनुराधा र ज्येष्ठा) बारे । बाटो (मार्ग) देखाउने कार्य भएकाले यी हंसासन (अनुराधा) र कच्छपासन बाहुनहरू मृग कहलाए । कच्छप (रोम वा सिसली) भइहाल्यो । हंस (बृहत्तर ग्रीस) भैहाल्यो । बाटो देखाउने सुलसुलेको काम यी गर्दारहेछन् । कसका बारेमा बाटो देखाउँथे, त्यस बेलासम्म सुमित्रा नदी (टाइग्रिस) तरेर भारोपेलीहरू पूर्व लागेका थिएनन् । नत्र आजभन्दा लगभग ४००० चार हजार वर्षपूर्व बोगाजकुई (हात्तुसास)मा लेखिएको वेदको श्लोक आज किन फेला पर्थ्यो ? सिन्धुघाटी)को सभ्यताका बेला सुमेर र क्रीटसँग सोझै सम्पर्क थियो तापनि त्यो सभ्यता पक्कै भारोपेली थिएन ।
जब हामी वृश्चिकबाट विदा भएर धनुमा पुग्छौं हाम्रो सम्मुख कुकुर योनिको मूल नक्षत्र बिहीबारे छेत्रीका रूपमा खडा हुन्छ । संस्कृतमा पहाडको फेदीलाई मूल भनिन्छ । हामी तोकेर भन्न सक्छौं यी बिहीबारे मूल्याहा छेत्री पक्कै शक हुन् । शकको स्वाभाविक बार हुनुपर्थ्थो बुध । अरारत पर्वतको चुचुरोका आधारमा पात्रोले आर्द्रा नक्षत्रको जोहो गरेकोमा त्यसको बार बुध नै छ । फगत त्यो छेत्री नभई शूद्र छ । छेत्री अथवा शूद्र हुनु त संयोगको कुरो हो, तर बारको गडबडी एक अनौठो तानतुन हो । ब्रुगेसको अर्थ हो प्राचीन क्षुद्रेसियाका भृगु अर्थात् भार्गव । पोतिसको अर्थ हो मालिक । ब्रुगेसपोतिसको अर्थ हो भार्गव
(फ्रिजियन)को मालिक । त्यसैको परिष्कार हो बृहस्पति । हाम्रा पुराणले अङ्गिराका चार भाइ छोरा मानेका छन् । ती हुन् क्रमशः अत्रि, उतत्थ्य, संवर्त एवं बृहस्पति । बृहस्पति को हुन् थाहा भइहाल्यो । अग्नि हुन् रुद्र अथवा सोम । प्राचीन क्षुद्रेसियामा तिनलाई लिडियन भनिन्थ्यो र असुरहरू लुड्डु (रुद्र) भन्थे । उतत्थ बुधबारे ... भैहाले । संवर्त्तहरू आइतबारे काशी हुनु सम्भव छ । अङ्गिराका यी चार भाइ छोरामध्ये उतत्थ र बृहस्पति दुवै नै उतत्थकी पत्नी ममताउपर जाइलागेकाले जन्मिए भारद्वाज (दुई बाबुका दोग्ला छोरा) भन्छ पुराण । मलाई लाग्छ, ममता काद्रवगैह्री (क्याल्डिन डिप्रेसन अथवा खाण्डवप्रस्थ) थिई । त्यहाँ खस, तुषार, भार्गव, शक, आर्मिन आदि अनेर्कौं जाति थिए । भार्गव त नेपालसम्मै थिए यसैले नेपालको खस इलाकालाई भोटकाहरू भर्ग्युल (भार्गवको देश) भन्दथे । भन्दथे मात्रै किन, अझै भन्दैछन् । यिनै भार्गवलाई लखेटेर बृहस्पति भएका आङ्गिरसहरूले ठानेका थिए खाण्डवप्रस्थ पनि सजिलै ढल्नेछ । तर उतत्थ (शक)हरूको सङ्ख्या प्रशस्त भएको हुनाले सम्झौता आवश्यक भयो । ममता (खाण्डवप्रस्थ) भारद्वाज भइन् । त्यो ठाउँ पृथ्वी कहलायो । पात्रोमा मानव गण भएका जम्मै नवगण (नौवर्ग) मानव छन् । ममता (खण्डु वा कद्रु) पृथ्वी भएकीले यहाँका मान्छे पार्थ वा भारत कहलाए । एकथरी पार्थ इरान गएर पार्थिया जन्माउन सफल भए । अर्काथरी पार्थ पूर्व बढेर भारत जन्माउन सफल भए । एकथरी पार्थ (लिच्छवि)हरू नेपाल पसेर त्यसलाई जम्बूद्वीप (याम्बू)को भरतखण्ड बनाउन सफल भए । तिनले हिमालदक्षिणको भर्ग्युल (खसान)लाई नष्ट पारे । नेपालमा भारद्वाजको बगालमा मिसिएर न्याउरीबहादुर (उत्तराषाढा) पनि आए । बुधगङ्गा (अनेकौं बूढी नदी)लाई न्वारान गर्ने कुतिक (गुतिक) पनि आए । अनेकौं शकगङ्गा (सेतीहरू) र अनेकौं शक (से) तोला वा सिटौलालाई नाम दिने शालिवाहन पनि आए । तर भाँडभैलो मचाउने चाहिं यहाँ भारद्वाज नै भयो । अरारत पर्वतबाट आएका आत्रेय र खाण्डवप्रस्थबाट आएका कौण्डिण्यको नेपालमा महत्व छैन भनेको होइन । अवश्य महत्व छ । गरुड (दास वा दाहाल) भैहाले । धनञ्जयगोत्री त सक्कली पार्थ (भारत) भैहाले । तर यसो हुँदाहुँदै पनि अरारत (आत्रेयगिरि) वारि आएपछि विशुद्ध बृहस्पतिको जोर चलेन । खूब ठूलो जमर्को गर्दा पनि ममताको कोखको बच्चोलाई भारद्वाज (पार्थद्वाज) हुनुबाट जोगाउन सकेन वृहस्पतिले । अर्थात् ब्रुगेसपोतिसले
सकियो गनथन धनुको । धनु अर्थात् सिङ्गो अरारत पर्वतको । मूल नक्षत्र भैहाल्यो धनुको ताँदो खिंच्ने अरारतको फेदी । अरारत भैहल्यो धनु । मिथुन राशिमा उल्लिखित आर्द्रा नक्षत्र भैहाल्यो शत्रुउपर हुर्रिन तत्पर धनुको काँड । कति राम्रो नाटकीय उपमा छ पात्रोमा, तर तैपनि पत्याउन्नन् ज्योतिषी बाजेहरू भने खाँचैसित । गणितको ग पनि नजान्ने केकेमनुक्च्योले फुर्सतको बेलामा यस्ता गनगन पनि गर्न नपाए, के गरेर दिन बिताउने त उसले ?
• अङ्गिराका चार भाइ छोरामध्ये कान्छो बृहस्पति । त्यो थालिन्छ धनुराशिको मूलबाट अर्थात् माउन्ट अरारतको फेदीबाट । थालिन्छ भन्ने कि भारद्वाज पार्थमा परिणत हुन्छ भन्ने ? विचरी खाण्डवप्रस्थकी ममता ! तोकेर भन्न सकिनन् तिनले, आफ्नो पेटको गर्भ देबर बुहस्पति को कि पोइ उतथ्यको हो भनेर । भारी सभामा बेइज्जती भयो तिनको । राजा मरुतले लगेर पाले । शिक्षादीक्षा दिए बालक भारद्वाजलाई । ठूलो ऋषि भयो बालक । अनि उतथ्य र बृहस्पति मेरो हो भनी दाबी गर्न लागे भारद्वाजलाई । भारद्वाज (पार्थ/भारत) चिन्नलाई चिन्न सक्नुपर्छ मूलपछि लगत्तै थालिने शायनासनका पाँचपाउ पार्थ (मानव)हरूलाई । ती हुन् पूर्वाषाढाका भूधफाढ, उत्तराषाढाका भेभोजजी । यहाँ पूर्वाषाढा बाँदर भैहाल्यो । सिङ्गै बाँदर मानव भैहाले । उत्तराषाढाका सबै (भेभोजाजी) न्याउरी भए पनि र ती जन्मै मानव (पृथ्वीका पार्थ/भारत) भए पनि बृहस्पतिको मान्यता पायो केवल प्रथम पाउ (भे) ले ।
भेउप्रान्त योनि (न्याउरी) यथावत् हुँदाहुँदै पनि उत्तराषाढाको शेष भाग (भोजजी) बन्न पुग्छ वैश्य । भन्नाले पुरुषसूक्तको कालमा यो दिव्यपुरुषको ऊरू प्रदेशमा बसाईँ सरेको हुनसक्छ । लुकेको अभिजित
(जुजेजोखा) जन्मै वैश्य छ । नलुकेको श्रवणी (खिखुखेखो) पनि जम्मै वैश्य छ । श्रवणी र लुगा धुने साबनको नाता भएको चर्चा भइसकेको हुनाले दोह्रोयाइन्न । मकर राशिको वैश्य धनेष्टाका चार पाउ (गागीगुगे) मध्ये प्रथम दुई (गागी) सम्म छ । त्यसउप्रान्त कुम्भ राशिको शूद्र आरम्भ हुन्छ धनेष्टाको गुगेका साथै । पुराण भन्छ कुम्भयोनि भनेको अगस्त्य ऋषि हो । सबै ऋषिमध्ये पुड्का अगस्त्य । ऋषिहरूले नै बोक्नुप्रयो काँधमा राजा नहुषले चढेको डोली । कुम्भ (धनेष्टाको गुगे, शतभिषाको गोशाशिशु एवं पूर्वाभाद्राको शेशोद गरी जम्मा नौ पाउ) पुड्का भएकाले राजा नहुषले गाली गरे । अनि तँ राजा साँप भइजा भनी रिसाएर कुम्भ (अगस्त्य)ले नहुषलाई सरापे । सरापले गर्दा नहुषले इन्द्रपत्नी शचि (पौलोमी)को पति हुन पाएनन् । हस्ती (हिट्टेली) राजवंशको उत्थानकालमा एकपटक इजिप्टकी एक रानीले पति हुन हिट्टेली राजालाई अनुरोध गरेको, राजा स्वयं आफू नगई छोरालाई पठाएको र छोराको हत्या बीच बाटोमै कसैद्वारा भएको घटना यो अगस्ति (कुम्भयोनि)को सरापसँग सम्बन्धित भए झैं मलाई लाग्छ ।
चाहे पूर्वा अथवा उत्तराफाल्गुनीको होस्, चाहे आषाढाको होस् अथवा भद्राको यदि मानव लोक (खाण्डवप्रस्थ)सँग सरोकार छैन भने त्यसलाई पूर्वा अथवा उत्तरा भन्न कत्ति मिल्दैन । पूर्वा र उत्तराबाहेक मानवगणधारी नक्षत्र तीन (भरणी, रोहिणी र आर्द्रा) मात्र छन् । बाँकी सबै नक्षत्रका गण कि स्वर्ग छन् कि पाताल । फाल्गुनीका पूर्वी उत्तराहरू अधिकांश (पाँच पाउ) छेत्री छन् बाँकी तीन पाउ वैश्य छन् । बाहुन र शूद्र कुन चराको नाउँ हो फाल्गुनीलाई थाहा छैन । आषाढामा पनि पाँच छेत्री र तीन वैश्य छन् । आषाढाले पनि बाहुन र क्षूद्र चिनेको छैन । तर विचित्रको छ भद्रा । त्यसमा तीन पाउ पूर्वाभाद्रा शूद्र र बाँकी एक पाउ पूर्वाभद्रा बाहुन छ । जम्मै उत्तराभद्रा बाहुन छन् । वैश्य र छेत्री कुन चराका नाउँ हुन् भद्रालाई पर्वाह छैन । दुई पराकाष्ठा (ओल्लो छेउको बाहुन र पल्लो छेउको शूद्र) लाई म्वाईं खान्छ भद्रा (वरुणा/अगस्त्या/कुम्भा)को भद्रपीठले । भद्रपीठलाई मतलब छैन छेत्री र वैश्यसँग । के कारणले गर्दा यो भयो होला ? कारण त्यति विवादपूर्ण छैन । पुरुषसूक्तको समयमा भद्रपीठेली ब्रह्मलोक (अङ्गिरालोक) र शूद्रलोक बाहेक अन्त थिएनन् । पुरुषसूक्तको विपरीत एक इन्च पनि पञ्चाङ्ग चल्ने प्रश्नै उठ्दैन ।
❖
पञ्चाङ्ग के होइन र ! इतिहास, भूगोल, राजनीति, धर्म, विज्ञान आदिको समुच्चय हो । नत्र यसलाई बाह्र (राशि) र सत्ताईस (नक्षत्र)का कुरा किन भन्थे हाम्रा पूर्वजले ? पञ्चाङ्गमा आरम्भदेखि अन्तसम्म पाइने योनि हुन् हात्ती र घोडा । आरम्भमा घोडा अश्विनीबाट थालिन्छ र अन्त्यमा कुम्भराशिको शतभिषा (मेरो मतमा क्याडफाइसेस)मा स्पर्श गर्न पुग्छ । घोडा पक्कै एसिया (अश्व)को प्रतीक हो । घोडाको शत्रु भैंसी (महिषी) ग्रीसको माइसिनी अस्मिताको प्रतीक हो । हस्ता नक्षत्रको योनि महिष भएको हुनाले सिङ्गोमा जम्मै हात्ती ग्रीसको प्रतीक ठहरिन्छ । सम्भवतः पञ्चाङ्गकार ग्रीक नागरिक हुन्, किनभने पात्रोमा तिथि शब्दको मूल ग्रीक भाषाको तिथेमि (दधामिः धारणा गर्छु) भन्ने क्रियासँग ठोकिन पुग्छ । मेष राशिको भरणी हात्ती छ र मीन राशिको हात्ती रेवती छ । ग्रिसेली विद्वान्ले मेषमा पनि र मीनमा पनि एसिया (अश्व)लाई विजेता स्वीकार गरेको छ । रेवती भनेको लेय (सिंह) की पत्नी (अर्थात् एसियाकी स्वास्नी यूरोपा) भनेझैं छ । काशी जातिले अश्वारोहणको आविष्कार गरेर गधा (यास) लाई घोडा
(अश्व)को मान्यता नदिएको भए ग्रिसेली ज्योतिषीहरूले प्रशंसाको माला किन उन्थे र ? त्रागोस (तर्साउने भूत) मै सीमित रहनेथियो त्रागोसल्यान्ड (थ्रेस) ।
यथार्थमा हात्तीको शत्रु सिंह एसिया नभई अफ्रिका हो । अफ्रिकाको शाब्दिक अर्थ नै हो िंसंहलद्वीप । त्यहाँका केही देशको नाम लिब्या (लेयभूमि), लेब्नन (लेयजगत्) आदि रहनुबाट पनि यो कुरो स्थापित हुन्छ । अफ्रिकाको उत्तरी भाग (नाइल नदी निकटको भाग)मा कुश जातिका मानव भएको आधारमा कसैले अफ्रिकालाई कुशद्वीप पनि भनेका छन् । परन्तु सिङ्गो अफ्रिका चाहिं लेयद्वीप (सिंहलद्वीप) नै हो । यदि रेवती नक्षत्रको शाब्दिक अनुवाद गर्ने हो भने यसको अर्थ हुन्छ सिंह (लेय)की पुत्री वा पत्नी । स्मरण होस्, रेवती नक्षत्रको योनि हो हात्ती । जसको योनि हात्ती छ त्यसलाई सिंहकी छोरी भन्न मिल्दैन, तर पत्नी (दासी) भन्न मिल्छ । अतएब रेवती नक्षत्र सिंहकी दासी नै सही, तर त्यो मीन राशिको अन्तिम नक्षत्र हो । त्यो पात्रोका २७ नक्षत्रमध्येकै सबैभन्दा कान्छो माछोवाची राशि (पिस्केस)का साथ टुङ्गिने नक्षत्र हो । यद्यपि पुराणले मीन (माछो) लाई विष्णु भगवान्को प्रथम अवतार भन्छ । प्राणी विज्ञानले पनि ढाडेली (भर्टिब्रेट) मध्ये सबैभन्दा जेठो माछो नै हो भन्छ । यद्यपि युरोपको इतिहासले पनि सृष्टिका आदिमानव किङ्ग माइनोस (रूपारानी अर्थात् युरोपा मैयाँले जेउसकातिरबाट पाएको छोरो मीन)लाई क्रीटको इतिहासको जनक मान्दछ । तर पात्रोले त्यस्तो महत्वपूर्ण जेठोलाई किन रेवती नक्षत्रका साथ टुङ्गिने कान्छो सत्ता मान्यो ? यो किनको उत्तर दिनु सजिलो छैन । उत्तर आ–आफ्ना पाराका हुनु सम्भव छ । म मेरै पाराले उत्तर दिन्छु ।
पात्रोले मीन राशि, अथवा रेवती नक्षत्रबाट किन आरम्भको श्रीगणेश गरेन भने मीनमा मानवीय गुण (पूर्वाभाद्राका चार पाउ अर्थात् शेशोददीमध्ये दी मात्रै एवं पूर्वाभाद्राका जम्मै पाउ अर्थात् दुथझञ) दिएको छ । यसरी मान्छेका पाँच पाउँ (दीदूथझञ) भए मीनसँग । देउताका चार पाउ (रेवतीका देदोचाची) पनि भए मीनराशिसँग । सृष्टि सम्पन्न हुन सत्व (देव), रजो (मान्छे) र तमो (राक्षस) तीनै चाहिन्छ । तमोगुणलाई घृणा गर्न पाउन्न सृष्टिले । अतः थोरै भए पनि सृष्टिको डिफरेन्सियल काउन्टमा तमोगुण चाहिन्छ नै । त्यो थोरै मात्र पनि नभएको हुनाले त्यहाँ (मीनराशि)बाट पात्रो थालिएन । त्यो थालियो राक्षस (कृतिकाको अ) समेत भएको मेष राशिबाट । के छैन मेषसँग ? देव (सत्वगुण) छैन कि आश्विनिको चुचेचोलामा ? मानव (रजोगुण) छैन कि भरणीको लिलुलेलोमा ? तमोगुण छैन कि कृतिकाको प्रथम पाउ (अ) मा ? यो ‘अ’ ॐकारको ब्रह्मा हो ? यो अ त देवनागरी, ब्राह्मी, ग्रिसेली, रुसेली आदि लिपिको पहिलो अक्षर हो । सृष्टिमा दानव दाजु र देवता भाइ थिए भन्ने पौराणिक मान्यतालाई प्रमाणित गर्दछ कृतिका नामक आसुरी नक्षत्रको प्रथम पाउ अ ले । सृष्टिलाई सफल पार्न सबै गुण दिन सकेको हुनाले नै अश्विनी जेठो नक्षत्र हुन पायो । आन्द्रोमेडा (अश्विनी) ! तेरो जति प्रशंसा गरे पनि मुख थाक्तैन, किनभने तेरो काशी अस्मिता नै विश्वमा अश्वारोहणको आविष्कार गर्ने प्रथम जाति हो । यस जातिको आश्विन महत्तालाई स्वीकार्नेहरूले महादेशलाई ने आसिया (अश्वसंसार) नाउँ दिए । भगवानलाई ईश्वर (अश्ववर) भने । यसको काशी अस्मितालाई महत्व दिनेले एउटा राशि (एन्ड्रोमेडा)लाई अश्विनी नाम दिंदादिंदै पनि राशिलाई मेष (एरिज अर्थात् बोको) भने । क्षुद्रेसियानिरको एक देशलाई मेषदुनियाँ (मेसिडोनिया) नाउँ राखे । निकटकै अर्को एउटा देशलाई बोकाको देश (वर्कभूमि अर्थात् बुल्गारिया) नाउँ दिइयो । अरबहरू बोकालाई अज भन्थे क्यार । तिनका शत्रु थिए क्यार बोका (अज) । अझै ती टर्कीलाई अजम (अजभूमि) भन्दैछन् । तुर्कहरू पनि आफूहरू रगतले बुल्गार हौं अझै भन्दैछन् । बल्कान इलाका नै वर्क (बोके भगवान् बोक्कुस अर्थात् डायोनिसस अर्थात् कुमार कार्तिकेय) थियो भन्ने कुरामा शङ्का छैन ।
म यो लेख लेख्दैथिएँ, एकजना बुज्रुकले खोट लगाए । के लेख्छस् तँ यसबारे । नोस्ट्राडेमसले जुठो हालिसकेको कुरो हो यो । नोस्ट्राडेमसको शाब्दिक अर्थ हो ज्योतिषज्यू । नोस्ट्राडेमस जो भए पनि त्यसले गर्ने काम हो भविष्यवाणी । मेरो सामर्थ्यभित्रको काम होइन भविष्यवाणी । मैले ता राशि र नक्षत्र आदिको नाम, योनि, आसन, वश्य (पेसा), वर्ण, बार आदिको अध्ययनको सघोटले इतिहास बुझ्न खोजेको हुँ । भविष्यवाणी गर्नु मेरो कार्य होइन । अतः मेरो यस कार्यलाई नोस्ट्राडेमसको भविष्यवाणीसँग दाँजियो भने मेरो कलमप्रति अन्याय हुनेछ ।
पात्रोबाट बितेका कुराबारे अभ्ययन व्यक्तिगत परिप्रेक्ष्यमा गर्ने काम नेपाली ज्योतिषहरूले गर्दै आएका छन्, तर राशि र नक्षत्रको नामको आधारमा मानवइतिहासको सन्धान गर्ने काम थोरै मेरो सं. २०५५ मा प्रकाशित ग्रन्थ (खस जातिको इतिहास)ले ग्रयो आजभन्दा १३ वर्षपूर्व । त्यसपछि फुटकर रूपमा यसबारे निहुँ खोज्दैछु म । प्रस्तुत लेख पनि निहुँखोजाइकै एक अनवरता हो । अतः मलाई कसैले नोस्ट्रोडेमस नभनेको अति बेस । मेरा विचारमा भविष्यवाणी एउटा जुवाखेल हो । त्यो जुआमा जीत भएमा लाखौं हात पर्न सक्छ, हार भएमा लाखौं गुम्न सक्छ । परन्तु इतिहासको कथनमा चितभटको प्रश्न उठ्दैन । उदाहरणार्थ मैले पात्रोका अग्निकुण्डासनका वैश्यहरूलाई खस बाहुन (कात्तिके)का पूर्वज स्वामी कार्तिकेयको रूपमा दर्शन गरेर कुनै ठूलो पुरुषार्थ गरिनँ हुँला, तथापि स्कन्दपुराणको माघ माहात्म्यभिद्र पर्ने कुमार कार्तिकेय (स्कन्द)को रक्तांश नेपाली खस अस्मितामा छाम्ने मेरो प्रयासको अवमूल्यन गर्न खोज्नेहरूको केही लाग्नेछैन ।
मेष राशि र अश्विनी नक्षत्रलाई नाउँ दिएर मात्र चूप लागेको छैन खस जाति । सिंह राशिको मघा नक्षत्रमा झन् खुलेर जमेको छ खस जाति । थेओडोर हेराल्ड इन्स्टिच्युटका प्रकाण्ड (्रयाफेल पाटइ)ले जुन गोग र मागोग बारे इन्साइक्लोपिडिया अमेरिकानामा चर्चा गरेका छन्, त्यसैको मागोग हो मेरा विचारमा हाम्रो पञ्चाङ्गको मघा । अरू इन्साइक्लोपिडियामा पनि चर्चित मागोग हाम्रो माघ महिनालाई नाम दिने मघा हो मेरो विचारमा । अर्को शब्दमा भन्ने हो भने इन्द्रको नाउँ मघवा (मघवन्) भएको यसै मघाबाट हो । हाम्रो पुराणमा त हजारौं पन्ना ढाकेका छन् मघवा (इन्द्र), माघमाहात्म्य र मघानक्षत्रले तर विचरा पाश्चात्य विद्वान्हरू निराश छन् मागोगको बारेमा धेरै कुरा चाल नपाएर । विभिन्न पाश्चात्य स्रोतमा गोगको प्रसङ्गमा मागोग (मघा) बारे उल्लिखित कुरा अति अल्प छन् । ती स्रोत भन्दछन्– बाइबलको प्रोफेसी (भविष्यवाणी) शीर्षकको प्रसङ्गमा भनिएको छ इज्रेलको शत्रुको रूपमा मागोग (मघा !) प्रदेशमा गोगले आक्रमण गर्नेछ । त्यस ग्रन्थको इजाकेल नामक अध्यायको अठतीसदेखि उनन्चालीस प्रसङ्गमा भनिएको छ मेसेक (मुस्की) र तबलको भूमिमा इसरायलउपर हमला गर्न मागोग (मघा) खनिनेछ । ऊ सँग रिसाएर भगवानले झरी, असिना, उडेलो र ढुङ्गा बर्साउनेछन् । ती मर्नेछन् र गोगगिरि नामक पहाडमा तिनलाई गाडिनेछ । धेरै विद्वान्हरूले, राफेलका मतमा, गोगलाई प्राचीन क्षुदेसियाको रुद्रपुरी
(लिडिया)को राजा गाइजेस (क्रा.पू.६८५–क्रा.पू. ६५२)सँग दाँजेका छन् । तत्कालीन असुरदेशको अभिलेखमा त्यहाँको राजालाई गुग्गु र तिनको देश लिडियालाई लुड्डु भनेको आधारमा यसो गरिएको हो ।
❖
न्यूटेस्टामेन्टको रिभिलेसन भन्ने अध्यायको २०.८मा दैत्यराज सैतानले गोग र मागोगलाई युद्धको लागि बोलाउँछ । यहुदीहरूको युगान्तकारी एवं प्रलयङ्कारी भविष्यवाणीको क्रममा गोग र मागोग दुवै योद्धाको वर्णन छ । मसिहा भगवान्को उदयपछि यो झगडा टुङ्गो लाग्छ । अरब ग्रन्थहरूमा गोगलाई याजुज र मागोगलाई माजुज भनिएको छ । अरब ग्रन्थका अनुसार यी दुवैलाई सिकन्दर महान्ले एउटा गाह्रो (गढ) भित्र कैद गरेका थिए । अरब ग्रन्थ भन्छन् यी दुवै राक्षस (गोग र मागोग) सृष्टिको प्रलय हुने बेलामा बाहिर आउनेछन् र भगवान्द्वारा ती दुवै मारिनेछन् ।
बेलाइतको अनुश्रुतिअनुसार पनि गोग र मागोग दुवै राक्षस छन् । ती दुई राक्षस लन्दनको गेलहल नामक झ्यालखानमा थुनिएका थिए । हेन्द्री पञ्चमको पालासम्म दुवै राक्षसका १४ फिट अग्ला पुतला खडा थिए रे । तर सन् १६६६को अग्निकाण्डले ती नष्ट भए रे । फेरि १७०८मा तयार भएर पुनः १९४०को हवाई आक्रमणमा ध्वस्त भए रे । आजका दुई पुतला सन् १९५३ मा बनेका हुन् । यसरी पटाई राफेलले गोग र मागेगको राक्षसी विवरण पूरा गर्दछन् । परन्तु अरब, अङ्ग्रेज, यहुदी आदिले वर्णन गरेका राक्षस मागोग हाम्रा देवराज इन्द्रका रूपमा स्थापित हुन्छन् ।
मैले भनिसकें मागोग हाम्रा मघवा (इन्द्र) हुन् । ती गोगका शत्रु (मागोग) हुनु स्वाभाविक हो । विरोधी अथवा शत्रुका रूपमा मा–प्रसर्गको प्रयोग हाम्रा भाषाहरूको पहिचान हो । कतै मा–प्रसर्ग केवल म–प्रसर्ग भएको पनि पाइन्छ । उदाहणार्थ– अर्क (सूर्य/आर्य) तर मर्क (अनार्य), युल (साँप) तर मयूल
(सर्यभक्षी मयूर), रोङ्ग (भैसी) तर मारोङ्ग (महिषविरोधी मोरङ्ग) इत्यादि ।
नेपाली किंवा हिमाली परिप्रेक्ष्यमा गोग र मागोग दुवै राक्षस छैनन् । नेपालमा मागोग
(मघवा)बाट मुगु जिल्ला जन्मेको छ । मुगेली वन्धु हो, मुगुमा यदि हामीले मघवा (इन्द्र)को विशाल मूर्ति बनायौं भने त्यो इङ्गल्यान्डको बेलाइती शहर लन्डनस्थित गेलहलका दुई पुतलालाई जबाफ हुनेछ । मुगुमा मघवाको विशाल मूर्तिको निकटमा गोगको अलिकति होंचो मूर्ति पनि हुनुपर्छ । धेरै होचो चाहिं नहोस् त्यो गोग । गोग–होंचो भयो भने गुगे पुराङलाई हेला गरेको ठहरिने छ । गुगे–पुराङ अचेल मानसरोवरतिर छन् ।
अब चिनौं को होला त यो गोग ? भन्छन् बाइबल आदि गोग मागोगको प्रतिपक्षी राक्षस हो । प्राचीन क्षुद्रेसियाको लिडिया देशका राजा गाइजेस (क्रा.पू ६८५–क्रा.पू.६५२) नै गोग हुन् भन्छन् राफेल महोदय । म स्वीकार गर्छु उनको मत । गलत होइनन् राफेल, तर उनले चाल पाएनन् लिडिया नरेश गाइजेस हाम्रो पुराणमा वर्णित गजेन्द्र हुन् भन्ने सत्य । फ्रिजियाको सिंहासन प्राचीन क्षुद्रेसियामा गारुड भए झैं लिडियाको सिंहासन गजेन्द्र थियो । हिट्टेली साभ्राज्यको मुख्य राजधानी हात्तुसास (बोगाजकुई) सित ढेपिएको इलाका लिडिया पर्ने हुनाले लिडिया हिट्टी राज्यको मुटु हुन सक्छ र लिडियाली (राधेय) नरेश गाइजेस खस (मेसेक/मेष/मूषिक) भएकाले ती विशुद्ध हिट्टेली थिएनन् । तिनले अर्थ हात्ती नै लाग्ने तर आफ्नो काशी भाषाको गाइजेश (गजेन्द्र) पदवी सकारे । यो अन्तिम गाइजेसको पालोमा मात्र होइन यसभन्दा पूर्वका गाइजेसका पालामा पनि मघा (मघवाः इन्द्र)हरूको विरोध सहनुपरेको थियो लिडियाली गजेन्द्र (गुग्गु)हरूले । सम्भवतः गोग (गाइजेस)का विरोधी मागोम (मघवा)हरू थिए सुदुर पूर्वोत्तरका मितान्नीहरू । ती थिए मेसेक (मेष) मूलक । तिनले नै पात्रोको सिंह राशिमा मूषिक योनि पाए । यी मूषिक (मेसेक)ले नै एकातिर मेषराशि दिए र अर्कातिर सिंहराशि । मितान्नी नरेश तुसरत्तको नाम दशरथसँग मिलेबाट र दशरथका बाबुको नाम अज भएबाट मितान्नीहरू नै मेष र सिंह राशिलाई जोड्ने मेसेक (मूषिक) प्रतीत हुन्छन् । तिनले राशिलाई सिंह रोज्नुका पछि तिनले सिंहलसंसार (अफ्रिका)तिर आँखा गाड्नुको रहस्य लुकेको हुनसक्छ । एउफ्राटिस (भद्रागङ्गा) र टाइग्रिस (चैत्रागङ्गा)ले अतीतमा श्रावण ताल (लेक भ्यान) को बाटो मेसोपोटामियाका मान्छे प्राचीन क्षुद्रेसियासम्म आइपुग्ने हुँदा यी दुई नदीलाई मृग भनिएको हुनुपर्छ । यिनै मृगहरूले देखाएको बाटो भएर सुमेरसम्म पुगे खस (काशी)हरू । अनि त्यहाँबाट तिनले अफ्रिका (सिंहल संसार)को स्वामी हुने सपना देख्न थाले ।
❖
मूसा किन भनियो त मघा (मागोग)लाई ? बाइबलमा तिनलाई मेसेक (वा मुस्की) बताइएको छ । अतः मघवा (इन्द्र)हरू मूसा कहलाए । कुल, गुल, बुल, युल आदि झैं साँप (सर्प/सर्ब/ स्लाभ) बाट जोगिन यिनले नकुल (मागुल, माबुल र मायुल अर्थात् मयूर) सँग मात्र सन्धि गरेनन् तिनले भरणी (भर्मी) मूलका नाग (लाङ्गा) सँग राम्रो नाता राखे । नागइतर केही हात्ती पनि थिए झैं छ । ती रेवती नक्षत्रका हात्ती प्रतीत हुन्छन् । पक्कै त्यो रेवती सिंहको अधीनस्थ भएकीले लेयती हुँदै रेवती कहलाई । सिंहलाई प्रसन्न राखेर हात्ती (ऐरावत) माथि चढ्न तयार मघवा वास्तवमा उच्चैःश्रवा घोडो थियो । त्यसले शेषनागको थान्कोमा रेवती नागलाई मायाँ गरेन । सूर्यनारायणका मघा र पूर्वाफाल्गुनी दुवै नक्षत्र मूषिक (मेसेक) भएकाले ती विट्ठल (रोमन) र सर्ब (सर्प) का विपक्षी थिए । राजनैतिक विस्तारको कारणले सिंहलसंसार (अफ्रिका)मा प्रभाव जमाउनु प्रमुख ध्येय भएको हुनाले मघाको, पूर्वाफाल्गुनीको र उत्तराफाल्गुनीको सिरानको सिंहराशिले बिरालोका विरुद्ध किल्लाबन्दी गरेको छ ।
राजनैतिक दृष्टिले हेर्दा पात्रोका पारस्परिक विरोधमा प्रमुख हुन् युल र मायुल (साँप र मुजुर)को विरोध । यसलाई अर्को भाषामा साँप र गरुड (न्याउरी)को विरोध भन्न मिल्छ) अर्को विरोध हो गाई र बाघको विरोध । तेस्रो हो बिरालो र मूसाको विरोध । चौंथो हो भैंसी र घोडाको विरोध । पाँचौ हो हात्ती र सिंहको विरोध । छैटौं हो बोका र बाँदरको विरोध । सातौं हो कुकुर र मृगको विरोध । साँप र न्याउरीको विरोधमा हाम्रा पृथ्वीनारायण शाहको मेधासी कुल गारुड वंशी राजा किङ्ग मिडाससँग सम्बन्धित भएको मेरो विश्वास छ । उनका प्रतिद्वन्द्वी थिए नाग (लाङ्गा) वंशका भर्मीहरू । लाङ्गालीहरू मर्क (मङ्क) सम्प्रदायका मनुष्य भएकाले तिनलाई मिडासेली (मेधासी)हरू हेपेर मर्कट भन्दथे । मर्कटको अनुवाद माङ्गर पर्यायबाट गर्ने तामाङ्गहरूको आश्विन (ता) कुल पनि लाङ्गा (नाग) विरोधी थियो । लाङ्गालीहरूलाई विचारीभन्दा ठूलो जागिर नदिनू भन्थे पृथ्वीनारायण ।
मेघासी मूलका नेवारहरू पनि लाङ्गा (नाग) विरोधी न्याउरी हुन् झैं मलाई लाग्न थालेको छ । नेपालबाट नेवार शब्द जन्मिएछ भन्थ्यौं हामी । तर अचेल मेरो विचार फेरिएको छ । मेघासी शाहको गारुड कुललाई जोरीपारीले न्याउरी मुसो भन्दथे । यसले गर्दा नाउँ बिगार्नेले न्यारसम्म भनेको सुनिन्छ । काठमाडौं (नागदह)का नाग (लाङ्गा)हरूलाई लखेटेर नेवार (नकुल) जातिले उपत्यका प्रवेश गरेको रहेछ । म केटाकेटी छँदा मेरा साथीहरू नेवार भन्यो भने रिसाउँथे । तिनलाई नेपाल भन्नुपर्थ्यो । नेवार भन्दा न्याउरी मुसो हुने भएकाले ती नेवार कहलाउन तयार नभएका रहेछन् । नेवार भनेको गारुडवंशी भनेको रहेछ । निप नामका गोपहरूले नेपाललाई नाम दिए, तर गारुडवैरीहरूले गरुडझैं सुन्दर नामलाई बिगार्दा जन्मेको हो नेवार । मगर बाँदर (माङ्गर) भएकै दिन गारुडहरू न्याउरी (नेवार) भएका हुन् । यदि सत्य यसो नभएको भए नेवारहरू मगरभूमिलाई बाँदर देश (माक्वानपुर) भन्दैनथे । बाबु दुष्ट र नेवार इष्ट हुँदैन भन्ने उखान नेपाली भाषामा मगरले दिएको हुनुपर्छ । सत्य के हो भने न्याउरी र सर्पको द्वन्द्वमा नेवार
(गारुड) खस शिविरमा पर्छन् ।
पात्रोका नक्षत्रको आडमा अतीतको इतिहास खोज्ने काम अति जटिल भएकोले यसको सिङ्गो गाथा यस ठाउँमा अटाउन गाह्रो पर्ला । अब म कर्कट राशि र त्यहाँका नक्षत्र (पुनर्वसु, तिष्य एवं अश्लेषा)का सहायताले केही भन्न चाहन्छु । कर्क देश कार्कीहरूको उद्गमस्थल हो । त्यस कर्कदेशलाई क्यारिया पनि भनिन्थ्यो । कर्कदेश (क्यारिया) हखमी सम्राट् डेरियस महान्का छब्बीस प्रान्तमध्ये एक थियो ।
ग्रीसको अनुश्रुति भन्छ मत्स्य भगवान् (किङ्ग माइनोस !)को देश हो क्रीट (ग्रीसको एक राज्य) । हाम्रो पुराण पनि भन्छ मत्स्यदेशका राजा उपरिचरवसु थिए । ग्रीस चाहिं उपरिचरवसुलाई औरानस भन्छ । हाम्रो पुराण भन्छ – उपरिचरवसुका दुई पत्नी (ब्याइते गिरिका र ल्याइते अद्रिका) थिए । मैले गिरिका भनेर क्यारिया (कर्कदेश) ठानेको छु अनि अद्रिका चाहिं माउन्ट अरारत मानेको छु । पुराणले अद्रिकातिरबाट एक राजकुमार र एक राजकुमारी दिन्छ । अद्रिकाले दिएकी पुत्री नै कौरव–पाण्डवकी प्रपितामही योजनागन्धा (मत्स्यगन्धा) हुन् । योजन भनेको यवनदेश बुझाउने शब्द आयोनियनको अपभ्रंश हो । महाभारतमा गिरिका (क्यारिया)ले साक्षत् के जन्माइन्, यसको वर्णन छैन ।
तर मत्स्यपुराणमा क्रीटलाई क्रीट (सङ्कृति/राम्रो क्रीटदेश) भनिएको छ । फगत्, देश भन्ने साटो सङ्कृतिलाई ऋषि भनिएको छ । पुराण भन्छ, सङ्कृतिका दुई भाइ छोरा भए, जेठा गौरीवीति र कान्छा रन्तिदेव । पुराण भन्छ, गौरीवीतिका सन्तान बाहुन र रन्तिदेवका सन्तान छेत्री भए । मैले गौरीवीति क्यारिया (कर्कदेश) मानेको छु र रन्तिदेव (छेत्रीको उत्पत्तिस्थल अजरबैजान) मानेको छु । पात्रोमा कर्कराशि सिंङ्गै सौंबारे बाहुन छ ।
कर्कराशिका नक्षत्रहरू क्रमशः हुन् पुनर्वसु, तिष्य र अश्लेषा । आजकै कुतुब्बुद्धिनियानेर एउटा स्थलको नाम बुनर्बासी छ । त्यो पुनर्वसु होइन किन भन्ने ? आजको लेक भ्यान नामक तालको छेउमा तुर्कीमै तुस्पा नामक शहर छ । त्यो तिष्य होइन कसरी भन्ने ? आजको थ्रेसदुनियाँ नजिकै काकभुषुण्डी (क्रोसिया बोस्निया) निकट विट्ठल (इटली) मूलको कुनै थलो अश्लेषा नामले पक्कै थियो होला । हामीलाई यस्ता थुप्रै होलाहरूको सम्भावनाको झोला बोकाउन सक्षम पात्रोलाई इतिहासको खोजीमा एउटा थप दियालो बनाऔं, मेरो सबैसमक्ष यो बिन्ती छ । यति बिन्ती गरी कलमलाई यहीं थन्काउँछु ।
तर थन्किसकेको कलम थन्किन मानेन । भन्न थाल्यो– तिष्य नक्षत्र पुष्प पनि भए झैं तैष महिना पौष पनि हुन्छ । अनि पुष्यबाट पुष्प (फूल) हुन्छ । पुष्पबाट पुष्कर हुन्छ र पुष्करबाट पोखरेल हुन्छ । पुष्प (तिष्य)को बार सोमबार भए झैं हामी पुष्करहरूका हालसम्म नाम चाल पाइएका सोमनाथ आत्रेयको जन्म सं. ५२० मा भारतको कर्णाटकमा भएको थियो । त्यहाँबाट आई तिनले गुजरातमा सोमनाथको मन्दिर बनाए ।
क्षुद्रेसियाका तबल र मुस्की (ड्रविड र मूषिक) मध्ये हामी तबल (तामिल वा ड्राभिड) समूहमा थियौं । त्यो समूहलाई तर्मिलोई भनिन्थ्यो र ती प्राचीन क्षुद्रेसियाको लिसियामा बस्थे । लिसिया छोडेर अरारतको कुन मृगलाई मागदर्शक बनाई ती पूर्व बढे यो खोजीको विषय छ । अत्रि पर्वतमा निकै नबसी आत्रेय भएनौं हामी । तर सं. ५२० पछि चाहिं हामी गुजरात छोडी कश्मीर लाग्यौं । हाम्रा पूर्वज देवशर्मा (सं.७९१) कश्मीर नरेश जपापीड विनयादित्यका प्रधानमन्त्री भए । देवशर्माको मृत्यु नेपालका सेनापति अरमुण्ड्रीसँग युद्ध गर्दा भयो ।
तारापुञ्जले अम्बिकाप्रसाद उपाध्याय बनी मलाई इतिहास पढाएको होइन । नैसर्गिक सत्ता त जुँगा चल्नु मात्र हो । कुरा बुझ्नु वा नबुझ्नु व्यक्तिमा निर्भर यथार्थ हो । मीन राशिमा पिस्केस (तिस्केस/डिस्या/माछो) छँदाको झैं कर्कट राशिमा तिष्य (पुष्य/पुष्कर/बोको) हुँदाको मेरो पोखर बाहुनै कायम रहँदाको मेरो अस्मिता हजारौं वर्षको यात्रापछि पनि बाहुनै रहेकोमा म चकित छु । दशानन रावण भएर क्रीट (मीनभूमि)बाट रामसेस प्रथम आदिको मुलुकमा आक्रमण गर्ने टेन सी पिपुल्स नामका दशटाउकेहरू पनि बाहुनै थिए भन्छ पुराण । कुनै नक्षत्रले म माछो हुँ भन्दैन । राशिले चाहिं भनेको छ । तर माछो हो भन्ने राशि (मीनको अन्तिम नक्षत्र रेवती (अङ्ग्रेजहरूको भेला) को चाहिं पानीमा सरोकार छ । पानीद्वारा सञ्चालित वायुपङ्खा हो पाश्चात्यहरूको भेला । हाम्रो रेवतीको हात्ती पनि रतिकार्य सम्पन्न गर्न गहिरो जलाशय खोज्ने प्राणी हो । जल नभई नहुने मीन (पिस्केस)मा पूर्वात्य पञ्चाङ्ग अनुसार बाहुन बाजे हुन पाइएकोमा म मक्ख परेको छु । नेपालका स्पष्ट बहुसङ्ख्यकहरू हुन् बाहुनछेत्री । ती शोषक रे यहाँका बुज्रुक क्रान्तिकारीहरूका मतमा । त्यो देश पक्कै अमेरिकाभन्दा धेर उन्नत छ होला जहाँ सुविधाभोगी बहुसङ्ख्यक छन् । जोकर नेताहरू हो ? कि नेपाललाई अमेरिकाभन्दा धनी छ भनी घोषणा गर, नत्र जम्मै बाहुन र जम्मै छेत्रीलाई सुविधाभोगी घोषित गर्ने नकचरो राजनीति त्याग । तिमीले सुविधाभोगी घोषित ग्रयौ भने केही पनि सुविधा सन्तानले पाउने छैनन् भन्ने डरले म इतिहासलाई किन लुकाऊँ ?